‘मेक्सिकोको सीमामा पर्खाला लगाएरै छोड्‍छुः ‘

२०७४ पुष २८ गते, शुक्रबार

काठमाडौं, २८ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छोड्‍ने बताएका छन् । उनले आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको जानकारी दिए । रिपब्लिकन र डोमोक्र्याटहरुबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेण्डालाई कानुनकै रुपमा राख्न निर्देशन दिएका छन् । हाल उनीहरुबीच आप्रवासन सम्बन्धी वार्ता भइरहेको छ । उक्त आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रुपमा नै राख्न ट्रम्पले अाग्रह गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार गएको मङ्गलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको सङ्केत गरेका थिए । प्रतिक्रियापछि बुधबार मात्र राष्ट्रपति ट्रम्पले उक्त सीमा पर्खालबारे आफ्नो कार्यक्रममा रहेको र सो कार्यक्रम आफ्नो प्राथमिकताबाट कहिल्यै पनि नहट्ने पनि जानकारी दिएका हुन् ।
यसैगरी, अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । सन् २०१५ मा इरानसँग गरिएको आणविक कार्यक्रम नियन्त्रणसम्बन्धी एउटा महत्वपूर्ण सम्झौताबाट पछि हट्ने संकेत दिँदै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो । उक्त सम्झौताले इरानमाथिका थुपै्र प्रतिबन्ध हटाएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने इरानले आणविक इन्धन प्रशोधनको काम जारी राखेकाले इरानमाथिको प्रतिबन्ध कडा पार्नुपर्ने तर्क गर्दै आएको छ । यस विषयमा निर्णय गर्न राष्ट्रपति ट्रम्पलाई एकदिनकोे समय छ । उक्त समयभित्रै अमेरिकाले इरानमाथि थप नाकाबन्दी घोषणा गर्ने ट्रम्प सरकारका एक मन्त्रीले बताएका छन् ।

प्रतिक्रियाहरु