मृत्युदण्ड पाएकी रेहानाले आमालाई लेखेको चिठी विश्वभर चर्चित

२०७१ कार्तिक १२ गते, बुधबार


काठमाडौं। अन्तराष्ट्रिय स्तरबाट बचाउनका लागी धेरै प्रयास भए पनि २६ बर्षिया इरानी महिला रेहाना जब्बारीलाई मृत्युदण्ड दिइयो । बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली व्यक्तिलाई हत्या गरेको आरोपमा करिब सात बर्ष जेल काटेपछि उनलाई गत अक्टोबर २५ मा फांसीमा झुण्डाइयो । आत्मरक्षाका लागी हत्या गरेको दावी गरे पनि उनको पक्षमा सुनुवाइ भएन ।
रेहानालाई माफि दिइयोस भनेर अन्तराष्ट्रिय स्तरमा अभियान चलाइए पनि अन्ततः उनलाई तेहरानको जेलमा क्रुरतापूर्ण तरिकाले फांसी दिइएको थियो । उनलाई इरानको गुप्तचर मन्त्रालयले पूर्वकर्मचारी मूर्तजा अब्दोआली सरबन्दीको हत्या गरेको आरोपमा सन् २००७ मा पक्राउ गरेको थियो ।
रेहनाकी आमाले न्यायधीससमक्ष पूर्वगुप्तचर एजेण्ट सरबन्दीको हत्या आरोपमा छोरीलाई नभई आफूलाई फाँसी दिन समेत अनुरोध गरेकी थिइन । बलात्कार प्रयास गर्ने व्यक्तिलाई रेहानाले चक्कु प्रहार गरे पनि हत्या अर्कै व्यक्तिले गरेको आमाको दावी थियो ।
रेहानाकी आमालाई छोरीसंग अन्तिमपटक एक घन्टाका लागी भेट्न दिएका थिए । फांसीमा दिनु भन्दा केही साता अघि रेहानाले आमालाई एउटा भावुक चिठी लेखेकी थिइन । यो चिठी केही दिन वाहिर आएको छ र विश्व चर्चित भएको छ । उनको चिठी पढ्दा धेरैको मुटु रेटिन्छ । यही चिठीको पूर्ण विवरण यहां उल्लेख गरिएको छ ।
“आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ । मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन । मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ । आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको रु तर तपाइँको अनुभव काम लागेन त । जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ । जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् । एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् । र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो । मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस । आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न । त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस । मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न । मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि । यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।”

प्रतिक्रियाहरु