मुस्ताङलाई पूर्ण साक्षर जिल्ला घोषणा

२०७१ श्रावण १ गते, बिहीबार


काठमाडौ, १ साउन। हिमाली जिल्ला मुस्ताङलाई बुधबार नेपालको पाँचौ पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । मुस्ताङमा रहेका १६ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर बनेपछि पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।
यसअघि ललितपुर, पाल्पा, सिन्धुपाल्चोक र धादिङलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएको छ । मुस्ताङ पश्चिमाञ्चल विकास क्षेत्रमा दोस्रो र धौलागिरि अञ्चलको पहिलो पूर्ण साक्षर जिल्ला बनेको छ ।
लक्षित समूहका आठ हजार ४१२ जनामध्ये ९७.५८ प्रतिशत अथवा आठ हजार १२४ जनाले अङ्क र अक्षर चिन्ह, पढ्न र लेख्न सक्ने भएपछि पूर्ण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय मुस्ताङका विद्यालय निरीक्षक मोतिलाल चापागाईंले जानकारी दिए ।
कार्यक्रममा मुस्ताङका जिल्ला न्यायाधीश दयाराम ढकाल र प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले साक्षर जिल्ला घोषणा गरेपछि मुस्ताङको पहिचान थपिएको र सामाजिक विकासका लागि नयाँ सन्देश प्रवाह भएको बताए ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु