मुसहर समुदायद्वारा मादक पदार्थ सेवन र विक्रीवितरणमा रोक

२०७६ असार २२ गते, आईतवार

काठमाडौं, २२ असार । मादक पदार्थ नियन्त्रणमा मुसहर समुदाय लामो समयदेखि दिनभरि अर्काको घरजग्गामा गएर काम गर्ने, अनि ज्यालामजदूरी गरी कमाएर ल्याएको पैसाले साँझ भट्टीपसल वा होटलमा गएर मादक पदार्थ सेवन गरेर फजुल खर्च गर्ने त्रियुगा नगरपालिका–९ गैरुन, बरुवाभटा तथा मुसहरटोलका अधिकांश मुसहर जाति हिजोआज सचेत भई आफ्नो टोलमा मादक पदार्थ सेवन र बिक्री वितरण कार्य नियन्त्रण अभियानमा लागेका छन् । विगतमा अर्काकोमा मजदुरी गरेर कमाई गरी ल्याएको पैसाले बेलुकी मादक पदार्थ सेवन गर्ने र घरका परिवार भोकै हुने गरेका कारण घर झगडादेखि मुसहर टोलका केही अगुवा नै रातभर मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने र पटक–पटक झगडा हुने गरेको घटना गैरुन मुसहरटोलका सबुरलाल सदा बताउँछन् । केही महीनायता आएर आफूहरु जस्ता युवाले टोलवासीमा जनचेतना जगाउन थालेको र मादक पदार्थको कारण नै घरपरिवार भोकभोकै बस्नुपर्ने र दिनभरिको कमाई पनि त्यत्तिकै मादक पदार्थमा खेर जाने भएपछि अब यस्तो संस्कृति र व्यवहारलाई पूर्णरूपमा नियन्त्रण गरेर आफ्नो टोल सुधार गर्न अहिले मादक पदार्थ सेवन र बिक्रीमा समेत स्थानीय समिति नै गठन गरेर रोक लगाएको मुसहर टोलका ललु सदा बताउँछन् ।
मुसहरटोलका अगुवा बद्री सदाको अध्यक्षतामा नौ सदस्यीय समिति बनाएर अहिले यो बरुवाभट्टा तथा गैरुन मुसहरटोलमा पूर्णरूपमा मादक पदार्थ सेवन तथा बिक्रीवितरण गर्न प्रतिबन्ध नै गरिएको समितिका अध्यक्ष बद्री सदाको भनाइ छ । मादक पदार्थ नियन्त्रण समितिकी सदस्य पुनम सदाका अनुसार टोलमा मादक पदार्थ सेवन गर्नेलाई पहिलोपटक रु ५५१ जरिवाना र दोस्रोपटक रु एक हजार जरिवाना गरिने नियमसमेत समितिले निर्धारण गरेको छ । स्थानीय प्रहरी चौकी र वडा नं ९ का वडाध्यक्ष धनबहादुर दनुवारको उपस्थितिमा गठन गरिएको मादक पदार्थ नियन्त्रण समितिले अहिले सक्रिय भएर काम शुरु गरेपछि मुसहर बस्तीमा पादक पदार्थ सेवन र बिक्री वितरण पूर्णरूपमा नियन्त्रणमा आएको त्रियुगा नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर दनुवार बताउँछन् । गाउँमा मादक पदार्थ नियन्त्रण गर्न गठन गरिएको समितिले राम्रो काम गर्न थालेपछि अहिले यो गैरुन, बरुवाभट्टा टोलका मुसहरटोल साँच्चिकै मादक पदार्थ प्रयोगरहितको शान्तपूर्ण टोलमा परिणत भएको स्थानीय फुलकुमारी सदा बताउँछिन् ।
अहिले दिनभर कमाई गरेको पैसाले बेलुकी घर फर्कंदा गाउँका युवा चामल दाल, मासु किनेर ल्याउने गरेको र घरपरिवारसँग मिलेर खुशीले खाने गरेपछि गाउँ अर्कै शान्तपूर्ण बन्न पुगेको छ ।-रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु