मुक्त-हलियाकाे नाममा लाखौ भ्रष्टाचार

२०७५ श्रावण २८ गते, सोमबार

काठमाडौँ, २८ साउन । हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । उनीहरुले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका हुन् ।
जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले रु आठ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताए । साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग रु १६ हजारमध्ये रु नौ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो । रु नौ हजार ५०० मागेपछि आफूले प्रहरीमा निवेदन दिएको र वीरभान कोलीले पछि रकम फिर्ता गरेको रानाले बताए ।
मुक्तहलियाले दिएको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रैले यो विषयमा छानबिन गर्ने बताए । मुक्तहलियाबाट पैसा मागेको पाइएमा कानूनअनुसार कारवाही गरिने छ , उनले भने ।
बैतडीमा गत आवमा एक हजार मुक्तहलिया परिवारका लागि मुक्तहलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत रकम आएको थियो । सरकारले मुक्तहलियालाई घर निर्माणका लागि रु तीन लाख २५ हजार, जग्गा खरीदका लागि रु दुई लाख र घर मर्मतका लागि रु एक लाख २५ हजारका दरले रकम दिँदै आएको छ । बैतडीमा दुई हजार २२ जना मुक्तहलिया रहेको तथ्याङ्क छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार