मुक्तिनाथमा दर्शनार्थीको घुईचो

२०७४ कार्तिक १३ गते, सोमबार

काठमाडौ, १३ कार्तिक । मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको ओईरो लागेको छ । मुक्तिनाथ विकास समितिको चन्दा संकलनमा कार्यरत कर्मचारी नवराज सुवेदीले दैनिक करिव ३ सयको संख्यामा तिर्थालु आउने गरेको जानकारी दिए । मुक्तिनाथ पुग्ने धेरैजसो आन्तरिक पर्यटक छन् । अस्थायी जिल्ला ट्राफिक कार्यालय मुस्ताङले दिनहुँ करिव सयभन्दा बढी सवारी मुस्ताङ भित्रने गरेको बताएको छ । बिदाको मौका छोपेर मुस्ताङ आउनेमा अधिकांश कलेज र बिद्यालयका विद्यार्थी छन् ।
त्यस्तै बिभिन्न सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा बित्तीय संस्था र बिदेशबाट स्वदेश फर्किएकाहरुसमेत मुक्तिनाथको दर्शन गर्न पुग्ने गरेका छन् । यो सिजनमा कागबेनीदेखि मुक्तिनाथसम्मको १२ किलोमिटर सडक कालोपत्रे भएपछि मुक्तिनाथ दर्शन गर्ने तिर्थालुलाई सहज भएको छ । कतिपयले उपल्लो मुस्ताङको कोरला नाका, ऐतिहासिक लोमान्थाङ दरबार र छोसेर गुफा अवलोकन गरी फर्कने गरेको लोमान्थाङका समाजसेवी ईन्द्रधारा बिष्टले जानकारी दिए ।
मुस्ताङमा पछिल्लो समय नेपाली चलचित्र र म्यूजिक भिडियोको छायांकन गर्ने क्रम पनि बढेको छ ।

प्रतिक्रियाहरु