मुक्तक लामा काठमाडौँ–काभ्रे जनगणतान्त्रिक सम्पर्क मञ्चबाट निष्कासित

२०७७ असार २४ गते, बुधबार

काठमाडौं , २४ असार । काभ्रे जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष सोलेमानले विज्ञप्ति जारी गरी यही असार १९ गते गिरफ्तार भएका काठमाडौँ–काभ्रे सम्पर्क मञ्चका सदस्य मुक्तक लामालाई मञ्चबाट निष्कासन गरिएको जनाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा मुक्तकलगायत सङ्गठनमा आबद्ध नभएका मानिसहरूले सङ्गठनको सम्पर्कमा नरही सङ्गठनको निर्देशनविपरीत आर्थिक सहयोगको नक्कली पत्र छपाई केही व्यवसायीसँग आर्थिक सहयोग मागेको र केही पत्र प्रहरीले बरामद गरेको भन्ने अनुसन्धानपछि खुल्न आएकाले मञ्चका सदस्य मुक्तक लामालाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर मानवजातिलाई नै गम्भीर सङ्कटमा पार्ने गरी कोरोना भाइरस महामारीका रूपमा फैलिरहेको छ । उक्त महामारीले गर्दा नेपालले पनि जोखिम मोलिरहेको अवस्था छ । यस महामारीमा मानवीय संवेदनालाई ध्यानमा राख्दै हाम्रो सङ्गठनको पार्टी केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै सङ्गठनका नेता–कार्यकर्ताहरूलाई सङ्घर्षका काम–कारबाहीहरूलाई रोकी देशको रक्षा र जनताको सेवामा समर्पित हुन निर्देशन गरेको कुरा सबैमा अवगत नै छ । यस महामारीमा जनताको उचित व्यवस्थापन, रोगको रोकथाम तथा जनताको स्वास्थ्य अवस्थाको जाँच गर्नुभन्दा केपी वली सरकार हाम्रो सङ्गठनका नेता–कार्यकर्ताको निगरानी र धरपकडमा लागिपरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यही मिति २०७७ असार १९ गते प्रहरीले पक्राउ गरेपछि खुल्न आएको काठमाडौँ–काभ्रे सम्पर्क मञ्चका सदस्य मुक्तक लामालगायत सङ्गठनमा आबद्ध नभएका मानिसहरूले सङ्गठनको सम्पर्कमा नरही सङ्गठनको निर्देशनविपरीत आर्थिक सहयोगको नक्कली पत्र छपाई केही व्यवसायीहरूसँग आर्थिक सहयोग मागेको र केही पत्र प्रहरीले समेत बरामद गरेको भन्ने अनुसन्धानपछि खुल्न आएको हुँदा निज सदस्य मुक्तक लामालाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु