मुकेश अम्बानीकी छोरीको बिहेमा १५ अर्ब खर्च !

२०७५ मंसिर २६ गते, बुधबार

काठमाडौं , २६ मंसिर । भारतको मुम्बईमा बुधबार दुई धनाढ्य परिवारबीच वैवाहिक सम्बन्ध गासिँदैछ । अर्बपति मुकेश र निता अम्बानीकी छोरी इशा र पिरामल ग्रुपका मालिक अलय पिरामकलका छोरा आनन्दको डिसेम्बर १२ मा बिहे तय भएको हो। अमेरिकी नेता हिलारी क्लिन्टनदेखि गायिका बियोन्सेसम्म सहभागी भएका यो बिहे भारतमा मात्र होइन अमेरिका, युरोप लगायतका देशमा पनि चर्चा भइरहेको छ। एसियाकै धनाढ्य मुकेशले छोरीको बिहेमा तीन लाख भारु पर्ने कार्ड बाँडेका थिए। अब हुने खर्चले इशा-आनन्दको बिहे संसारकै महँगो बिहे हुन सक्नेछ। अखबार ब्लुमवर्गलाई उद्धृत गर्दै टाइम डटकमले लेखेको छ- भारतमा हुने यो बिहे विश्वकै महँगो बिहे हुने सम्भावना छ। यति धेरै खर्चिएको बिहेले ‘क्रेजी /रिच एसियन’लाई समेत मात दिने देखिएको छ। यो भनाइलाई फिल्म ‘क्रेजी रिच एसियन’ सँग दाँजिएको हो। गत अगस्टमा रिलिज भएको यो फिल्ममा एसियनहरूमा पैसा कमाएपछि कसरी देखावटी प्रवृत्ति हावी हुँदै जान्छ भन्ने देखाइएको छ। ब्लुमवर्गले अम्बानी परिवारको बिहेको तामझाम फिल्मको कथाभन्दा बढी देखिएको बताएको हो। तेल र दूरसञ्चार कारोबारी मुकेशले छोरीको बिहेमा दस करोड डलर खर्चिने बताइएको छ। यो भनेको झन्डै १५ अर्ब रुपैयाँ हो। यो जस्तै महँगो बिहे स‌ंसारमा ३७ वर्ष अगाडि भएको थियो। बेलायतका राजकुमार चार्ल्स र राजकुमारी डायनाको। त्यो बिहेमा भएको खर्च आजका भाउमा हिसाब गर्दा करिब ११ करोड डलर पुग्ने थियो। बिहेमा आउने पाहुनाका लागि कम्तीमा ५ वटा पाँचतारे होटल बुकिङ गरिएका छन्। उदयपुर विमानस्थलबाट बिहे स्थानसम्म जानै पाहुनाहरूले हेलिकप्टर चढ्नेछन् ।कम्तीमा पनि साता दिनसम्म चल्ने यो बिहेका पाहुनाका निम्ति एक सय वटा हेलिकप्टर चार्टर गरिएको छ। बिहेको मुख्य कार्यक्रम अम्बानीकै घर ‘एन्टिलिया’ मा हुँदैछ। २७ तले यो घर विश्वकै महँगो घरमध्ये पर्छ।
अम्बानीले यही वर्ष मात्रै एसियाका धनाढ्य अलिबाबाका मालिक ज्याक मालाई पछि पारेका थिए। अम्बानी परिवारमा यो पहिलो बिहे हो। मुकेश र निताका छोरी इशाका साथै दुई छोरा छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु