मिथिला परिक्रमा सम्पन्न हुँदै

२०७४ फाल्गुन १८ गते, शुक्रबार

काठमाडौं, १८ फागुन । मिथिलाञ्चल क्षेत्रको महाकुम्भ भनिने माध्यमिकी परिक्रमामा आज सम्पन्न हुँदैछ । फागुन शुक्ल प्रतिपदादेखि शुरु भई फागुन पुर्णिमासम्म गरिने यो परिक्रमामा श्रद्धालु भक्तजनहरुले नेपाल र भारतको विभिन्न १५ स्थानमा १५ दिनसम्म पैदल हिंडेर भ्रमण गर्ने गर्दछन् । सोही परम्पराअनुसार यस वर्ष फागुन ३ गतेदेखि शुरु भएको परिक्रमा आज सम्पन्न हुँदैछ ।
यो परिक्रमा गर्नाले मनवाञ्छित फल प्राप्तसहित स्वर्गको प्राप्ति हुने जनविश्वास रहिआएको छ । परिक्रमामा नेपाल र भारतका साधुसन्त र वृद्धवृद्धा श्रद्धालु भक्तजनहरुको बढी सहभागिता हुने गर्छ ।
मिथिला बिहारी मन्दिरबाट निस्केको मिथिला बिहारीको डोली र जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोलालाई जानकी मन्दिरमा दर्शन गराएर जनकपुरको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुर्‍याएपछि परिक्रमाको विधिवत सुरुवात हुने परम्परा छ । विभिन्न समूहमा विभाजित परिक्रमा टोली पडाव स्थलस्थित मठ मन्दिरमा बास लिने गर्छन् र रात त्यही बिताएर अर्को स्थानका लागि प्रस्थान गर्ने गर्छन् । नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो मिथिला परिक्रमा यात्रामा हजारौं श्रद्धालु सहभागी हुने गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार