मिथिलामा सुरु भयो होली पर्व

२०७० फाल्गुन २५ गते, आईतवार


काठमाडौं,२५ फागुन । महोत्तरी जिल्लाको कञ्चनवनमा आठौँ दिनको रात्रि विश्रामका लागि पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी (रामसीता)को डोला (डोली)मा रङ्ग, अबिर चढाउँदै आपसमा रङ्ग, अबिर छ्यापाछ्याप गरेपछि मिथिलामा होली (फागु) पर्व विधिवत् सुरु भएको छ ।
त्रेतायुगमा विवाहपछि वनविहारमा निस्केका रामसीताले आफ्नो यात्राको आठौँ दिन कञ्चनवनमा पुगेर रङ्ग, अबिर खेलेको जनश्रुतिका आधारमा आज १५ दिने माध्यमिकी परिक्रमाका यात्रीले रङ्ग, अबिर छर्दै रमाइलो गरेपछि मिथिलामा फागु पर्व विधिवत् सुरु भएको हो ।
‘‘खेलैय होरी…हो…खेलैय होरी….., कञ्चनवन में !
रामजीके हातमे कनक पिचकारी….,
सीयाजी’क हातमे अबिर झोरी…
हो… खेलैय होरी….!!’’ यात्रीहरुले गाएका होली गीतका यी हरफसँगै एकआपसमा रङ्ग, अबिरको छ्यापाछ्यापले कञ्चनवन परिवेश नै राताम्य भएको छ । डम्फुको तालमा होलीगीत गाउँदै यात्रीहरुले रङ्ग, अबिर खेलेको रमाइलो हेरेर बाटो हिँड्ने बटुवासमेत मन थाम्न नसकी होलीमा सरिक भइरहेका कञ्चनवन हरिहरपुरहरिनमरी गाविसकै हरिनमरी बस्तीका ८५ वर्षीय वृद्ध जितन यादवले बताउनुभयो । मिथिलामा माध्यमिकी परिक्रमाको आठौँ दिन कञ्चनवनमा सुरु भएको होली पर्व परिक्रमाका यात्रीहरु पूर्णिमाका दिन जनकपुर पुगेर सो राति सम्वत जलाएर (जसलाई होलिका दहन पनि भनिन्छ) भोलिपल्ट उत्सवका साथ रङ्ग, अबिर खेलेपछि यो पर्व सम्पन्न हुने परम्परा छ ।
करिब ४० हजार यात्री रहेका परिक्रमा यात्रामा स्थानीय लाखौं भक्तजन सहभागी भएका थिए ।कञ्चनवनको होलीको रमाइलोले नै आपूmहरुलाई हरेक बर्ष परिक्रमामा सरिक हुन अभिप्रेरित गर्दै ऊर्जा दिने गरेको वर्षौंदेखि नियमित परिक्रमामा सरिक हुँदै आएका यात्री बताउँछन् । कञ्चनवनको चारैतिर बिघौँबिघासम्म देखिने सघन बगैँचाको हरियाली, वरिपरि मधुरो स्वरमा गुञ्जिरहने रामायणकालीन गाथा प्रवचन, होली गीतको माधुर्यता र रङ्ग, अबिरको रमाइलो खेल बिर्सन नसक्दा आफु लगातार १५ वर्षदेखि परिक्रमामा सरिक हुँदै आएको सीमावर्ती सीतामढी जिल्लाको भारतीय गाउँ गोरहारीका ६५ वर्षीय अवधबिहारी शरणको भनाइ छ ।
माध्यमिकी परिक्रमा यात्रामा जिल्लाका पाँच रात्रि विश्रामस्थलमध्ये कञ्चनवन अन्तिम स्थल रहँदै आएको छ । जिल्लाको मटिहानीमा चौथो दिनको विश्रामबाट सुरु हुने महोत्तरी यात्रा कञ्चनवनमा आठौँ दिन रङ्ग, अबिर खेलेर रात्रि विश्रामपछि नवौँ दिनको यात्राका लागि धनुषा जिल्ला प्रवेश गर्ने परम्परा छ ।
जिल्लामा परिक्रमा यात्राको सांस्कृतिक परम्पराअनुसार मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन विश्रामस्थल रहँदै आए पनि विकासको अवसर नपाउँदा यी ठाउँ कुना कन्तराजस्तो बन्दै आएको महोत्तरीवासीको गुनासो रहेको छ । राज्यका उपल्ला निकाय, स्थानीय निकाय, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था र निकायले समुचित ध्यान दिने हो भने यी ठाउँ धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको अवकाश प्राप्त पूर्वप्रशासक जिल्लाकै भङ्गाहा–१ का बासिन्दा ७५ वर्र्षीय तेजनारायण सिंह थारूले बताए ।

प्रतिक्रियाहरु