मिटर नचलाउने ट्याक्सीमाथि कारबाही

२०७५ बैशाख ६ गते, बिहीबार

काठमाडौं, ६ वैशाख। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’ उनले भने । उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरे ।
मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पारे । महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु