मालेमावादको आवश्यकता किन ? – हस्तबहादुर केसी

२०७५ असार ४ गते, सोमबार

मालेमावाद अर्थात् माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारावर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त हो । मालेमावाद विश्व सर्वहारावर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त हो । आजको युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण वर्गसंघर्षको युग हो । यो युगको संश्लेषण विश्वसर्वहारावर्गका महान् नेता तथा लेनिनवादका प्रवर्तक लेनिनले गर्नु भएको हो । आज सम्म आइपुग्दा यो युग विश्व मानव समाजमा कायमै छ । लेनिनकै शब्दमा ‘आजको यो साम्राज्यवादी युग भनेको विश्व सर्वहारा क्रान्तिको पूर्व बेला हो । यसलाई परास्त नगरी विश्वक्रान्ति सम्भव छैन । सन् १९९० को दशकमा पुगेर रुसी मोडेलको समाजवादको विघटन पश्चात, चीनीया समाजवाद माथि भएको प्रतिक्रान्ति पश्चात विश्व कम्युनिष्ट आन्दोलन र विश्व समाजवादी शिविर रक्षात्मक स्थितिमा पुग्यो र विश्व साम्राज्यवाद, विशेष गरी अमेरिकी साम्राज्यवाद हावी भएर
आयो । अमेरिकी साम्राज्यवाद एकध्रुवीय महाशक्तिका रुपमा अगाडि बढ्यो । तर आज अमेरिकी साम्राज्यवाद धु्रवीय महाशक्तिको रुपमा कायम छैन । अहिले बहुध्रुवीय साम्राज्यवाद कायम रहेको छ । एकातिर अमेरिकी साम्राज्यवाद पनि कायमै छ भने अर्कोतिर चीन, रुस, भारत, ब्राजिल र दक्षिण अफ्रिका समेत संलग्न भएर ब्रिकस बनेको छ । ब्रिक्सले आफ्नै केन्द्रीय बैंक समेत निर्माण गरिसकेको छ र यसको मुख्य कार्यालय चीनको राजधानी बेइजिङमा राखेर सञ्चालनमा ल्याइएको छ । यसले पनि अमेरिकी साम्राज्यवादलाई टक्कर मात्र होइन, चुनौति समेत दिइरहेको छ । यसरी आज विश्वमा बहुध्रुवीय साम्राज्यवाद कायम रहेको छ । साथै आज विश्वसाम्राज्यवाद संकटग्रस्त पनि बन्दै गइरहेको छ ।
यस प्रकारको परिस्थितिमा एकातिर नेपाल लगायत अर्धसामन्ती र नवऔपनिवेशिक अवस्था कायमै रहेका विश्वका कैयौं देशहरुमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुदै वैज्ञानिक साम्यवादसम्म पुग्ने कार्य बाँकी नै छ भने अर्कोतिर पुँजीवाद, एकाधिकार पुँजीवाद र साम्राज्यवादमा पतन हुन पुगेका देशहरुमा समेत वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक साम्यवादसम्म पुग्ने सर्वहारावर्गको कार्यभार बाँकी नै छ । यी दुवै प्रकृतिका क्रान्तिहरु – नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न सर्वहारा क्रान्तिकारी कम्युनिष्टहरुलाई क्रान्तिकारी मार्गदर्शन सिद्धान्तको आवश्यकता पर्दछ । यसको आवश्यकता मालेमावादले मात्र पुरा गर्ने भएकाले यस लेखमा माक्र्सवाद–लेनिनवाद–माओवाद भनेको के हो ? विश्वसर्वहारावर्गलाई, विश्व श्रमजीवी वर्ग र मुक्तिकायी जनसमुदायलाई मालेमावादको आवश्यकता किन पर्दछ ? यसको रक्षा, प्रयोग र विकास कसरी गर्ने बारेमा यस लेखमा संक्षेपमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
सर्वप्रथम, मालेमावाद अर्थात् माक्र्सवाद–लेनिनवाद–माओवादका बारेमा जानकारी लिन आवश्यक छ । माक्र्सवादले के कस्ता चरणहरु पारेर नयाँ र उच्च चरणमा विकास गरिसकेको छ र आफ्नो विकास र प्रयोगको बाटोबाट अगाडि बढिरहेको छ भन्ने बारेमा जानकारी लिन आवश्यक छ ।
माक्र्सवाद के हो ?
सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन कम्युनिष्ट लिगको तर्फबाट कार्ल माक्र्स (सन् १८१८–१८८३) र फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) ले जु कम्युनिष्ट घोषणापत्र जारी गर्नु भयो, यो विख्यात कम्युनिष्ट घोषणापत्र नै माक्र्सवादको पहिलो दस्तावेज हो । यो नै विश्वसर्वहारावर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त, पथप्रदर्शक सिद्धान्त हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समग्रतामा भएको हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो । माक्र्सवादी दर्शनको फाँटमा यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो प्रक्रियाको बीचबाट भएको हो ।
माक्र्सवादका तीन श्रोत र तीन संघटक अंग रहेका छन्– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन मानव समाजमा विद्यमान रहेका सबैखाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।
माक्र्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित छ । साथै यसले वस्तुहरुका बीचको सम्बन्धलाई होइन, मानिसहरुका बीचको सम्बन्धलाई आधार मानेर चल्दछ । त्यस्तै माक्र्सवादद्वारा विकसित वैज्ञानिक समाजवाद वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र वैज्ञानिक साम्यवादको स्थापनाको समष्टि हो । साथै यसले राज्यसत्ताको क्षेत्रमा सबै खाले प्रतिक्रियावाद र काल्पनिक समाजवादको विरोध गर्दछ । माक्र्सवादको महत्वमाथि प्रकाश पार्दै लेनिन लेख्नुहुन्छ – “माक्र्सवादको शिक्षा सर्वशक्तिमान छ किनकि त्यो सत्य छ । त्यो सम्पूर्ण तथा सामाञ्जस्यपूर्ण छ र त्यसले मानिसलाई एक यस्तो अखण्ड विश्वसंकल्पता प्रदान गर्दछ जुन कुनै पनि प्रकारका अन्धविश्वास प्रतिक्रियावादी प्रबृत्ति या पुँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कट्टर विरोधी छ । १९ औं शताब्दिमा जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सीसी समाजवादका रुपमा मानवजातिका जुन सर्वश्रेष्ठ उपलब्धिहरु रहेका छन्, माक्र्सवाद तिनैको विधिसम्मत उत्तराधिकारी हो ।” व्ला.इ. लेनिन संकलित रचनाएँ दश खण्डो मे खण्ड–४, पृष्ठ १९४ प्रगति प्रकाशन मस्को १९८२ ।
त्यस्तै माक्र्सवादका बारेमा कमरेड माओ अगाडि लेख्नुहुन्छ – “माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ, माक्र्सवादी दर्शन माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसंघर्षको सिद्धान्त, तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरी सकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरु हट्नेछन् ।” – माओत्सेतुङ चुनिएका रचनाहरु अंग्रेजी संस्करण भाग ५, पृष्ठ १६० ।
आज माक्र्सवादले माक्र्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरणमा समेत विकास गरिसकेको छ । अर्थात् माक्र्सवादको माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भइसकेको छ । ती चरणहरुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
माक्र्सवादको विकासको चरण ः
सर्वहारावर्गको मुक्तिको सिद्धान्तको रुपमा रहेको माक्र्सवाद विश्वसर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरुको संश्लेषणबाट भएको छ । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । माक्र्सवादी दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । संसारलाई बुझ्न सकिन्छ र यसलाई बदल्न सकिन्छ भन्ने मान्यता राख्दछ । साथै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता रहेका छन् ।
लेनिनवादको विकासको चरण ः
माक्र्सवाद गतिशील एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । माक्र्सवादमा आधारित रही लेनिन (सन् १८७०–१९२४) द्वारा विकसित विचारहरुको श्रृंखला नै लेनिनवाद हो ।
पुँजीवादले एकाधिकारी पुँजीवाद हुदै साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञान र प्रविधिका विविध क्षेत्रमा थप प्रगति हुदै जानु र यस प्रकारको नयाँ परिस्थितिअनुरुप माक्र्सवादलाई नयाँ उँचाइमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो । लेनिनवादभित्र पार्टी सञ्चालनका क्षेत्रमा लेनिनवादी संगठनात्मक सिद्धान्त (जनवादी केन्द्रीय तत्व) को सिद्धान्त पर्दछ ।
लेनिनले माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्ने प्रक्रियामा क्रान्तिका बीचबाट लेनिनवादको निर्माण गर्नु भएको हो । लेनिनकै समयमा संशोधनवाद जन्मियो र त्यसले माक्र्सवादको तोडमरोड तथा विकृतिकरण गर्न पुग्यो । अतः महान् लेनिनले संशोधनवादका विरुद्ध कडा सैद्धान्तिक संघर्ष चलाएर माक्र्सवादको रक्षा गर्नु भयो । साथै लेनिनले माक्र्सवादको रक्षा गर्नुका साथै महान अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेर रुसी धर्तीमा त्यसको प्रयोग समेत गर्नु भयो । यसका अतिरिक्त लेनिनले जडसूत्रवाद र अनुभववादका विरुद्ध कडा विचारधारात्मक संघर्ष चलाएर माक्र्सवादलाई विकसित तुल्याउनु भयो ।
लेनिनले माक्र्सवादको तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई विकसित तुल्याउनु भयो । त्यसैले लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो ।
माओवादको विकासको चरण ः
माओवाद कमरेड माओत्सेतुङ (सन् १८९३–१९७६) द्वारा विकसित तुल्याइएको माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । खास गरि सामन्तवादी साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरुको क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने, स्टालिनको मृत्यु पश्चात रुस एवम् पूर्वी युरोपका कैयौं देशहरुमा भएको प्रतिक्रान्ति र पुँजीवादको पुनः स्थापनाका कारणहरुको खोज गरी त्यसबाट शिक्षा लिनु पर्ने र त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरुको समाधान गर्नु पर्ने ख्रुश्चोवी आधुनिक संशोधनवादका विरुद्धको लडाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा कमरेड माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवादको तेस्रो, नयाँ र गुणात्मक उँचाइमा पु¥याउने काम भयो । यसलाई नै माओवाद भनिन्छ ।
लेनिन पश्चात जब माक्र्सवाद–लेनिनवादलाई कमरेड माओले विकसित तुल्याउनु भयो तब मात्र विश्वसर्वहारावर्गको पथप्रदर्शक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद बन्न पुग्यो । अतः सर्वहारावर्गको अधिनायकत्व अन्तरगत निरन्तर संघर्षको सिद्धान्त नै माओवाद हो ।
मानव समाजमा चल्दै आएका भीषण वर्ग संघर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानको रुपमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा माक्र्सवादको अनुसन्धान भयो ।
मानव समाजको विकासको क्रममा चल्दै आएका वर्गसंघर्षका नयाँ नयाँ अनुभव र समस्याहरुको सन्दर्भमा लेनिनद्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पु¥याउने काम भयो । यसरी आज एक विज्ञानकै रुपमा रहेको माक्र्सवाद संघर्षकै क्रममा विकासको तेस्रो, नयाँ र उच्च चरणमा पुगेको छ । अतः यो तेस्रो, नयाँ र उच्च चरण क. माओद्वारा विकास गरिएको माओवादको चरण हो ।
अतः यसरी आज विश्वसर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अमेये इंकाइका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । यसलाई कसैले पनि अलग गर्न सक्तैन । माओवादलाई अलग गरेर माकर्सवाद–लेनिनवादलाई मात्र हेर्नु संशोधनवाद हो ।
त्यसैले माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । जसरी कम्युनिष्ट क्रान्तिकारीहरुद्वारा सबैखाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका विरुद्धको भीषण संघर्षका बीचबाट माक्र्सवाद–लेनिनवादको विकास भयो । त्यस्तै गरी आज माओवादको विकास पनि निर्मम वैचारिक संघर्षको बीचबाट भइरहेको छ । त्यसो भएर नै संसारभरका प्रतिक्रियावादीहरु, संशोधनवादीहरु र अवसरवादीहरुले माओवादमाथि चारैतिरबाट भीषण रुपमा आक्रमणलाई अगाडि बढाई रहेका छन् ।
कमरेड माओले द्वन्द्वात्मक भौतिकवादको सारतत्वका रुपमा अन्तर्विरोधको नियम, विपरितहरुको एकत्वको नियमको उदघाटन र व्याख्या । दर्शनका क्षेत्रमा एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग गर्ने काम भयो ।
त्यस्तै ज्ञानसिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रुपान्तरणको दुई छलाङ्गको सिद्धान्तको रुपमा विकास र व्याख्या गर्ने काम भयो । साथै आधार र उपरिसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहार बीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना परिमार्जन गर्ने काम भयो । त्यस्तै नयाँ जनवाद, दीर्घकालिन जनयुद्ध, नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तरगत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा प्रयोग वर्गसंघर्षलाई मूख्य कडी मान्ने, राजनीतिलाई कमाण्डमा राख्ने, क्रान्तिलाई पकड्ने र उत्पादनलाई जोड दिने, मुख्यतः लाल बन्दै निपुण समेत बन्नु पर्ने जस्ता मान्यता र दर्शनलाई जन समुदायमा पु¥याउनृु पर्ने कुरामा कमरेड माओले जोड दिनु भएको छ । साथै माओले विश्वदृष्टिकोण र कार्यदिशा बीचको अन्तरसम्बन्धको बारेमा वर्ग संघर्ष तथा दुइलाइन संघर्षका समस्याहरुको समाधानको लागि रणनीति तथा कार्यनीतिको विकास र संशोधनवादका विरुद्ध निर्मम संघर्षमा जोड दिने कुरालाई महत्वका साथ स्थापित गर्नु भएको छ ।
यसरी मालेमावाद विश्वसर्वहारावर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त भएकोले संसारभरका सबैखाले प्रतिक्रियावादी तथा संशोधनवादीहरुले माओवाद र माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् ।
हाम्रो देश नेपालमा एकातिर दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको माओवादीको भित्रको एउटा ठूलो हिस्सा माओवादलाई फ्याकेर एमालेको जनताको बहुदलीय जनवादलाई स्वीकारदै, बहुलवादलाई स्वीकारर्दै, संसदीय व्यवस्थालाई स्वीकार्ने मात्र होइन त्यसलाई बलियो बनाइराख्ने गरि एमालेमा विलय हुन पुगेको छ र प्रतिक्रिया वादी सत्तामा समेत सामेल हुन पुगेको छ । मुख्यतः दश जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड बाबुरामहरु एमालेकरण र काँग्रेसीकरण भएर नेपाली कम्युनिष्ट आन्दोलनबाट बिसर्जित हुन पुगेका छन् ।
यस्तो परिस्थितिमा वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्दै आएको र महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने जिम्मेवारी बहन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मात्र मालेमावादका आधारभूत सिद्धान्तहरु र त्यसका आदर्शहरुलाई आत्मसात गर्दै आएको छ । मालेमावादलाई पथप्रदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्दै आएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) ले वर्तमान नेपाली समाजको वैज्ञानिक ढंगले वर्ग विश्लेषण गरेको छ । अर्थसामन्ती र नवऔपनिवेशिक अवस्थामा रहेको नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने लक्ष्य राखेर अगाडि बढेको छ । यस पार्टीले नेपाली क्रान्तिको सामरिक कार्यदिशा समेत पारित गरेर सशस्त्र जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने रणनीतिक कार्यदिशा समेत पारित गरेर कार्यान्वयको लागि क्रान्तिका तीन जादुमयी हतियार पार्टी, सेना र संयुक्त मोर्चाको निर्माणलाई महत्वका साथ अगाडि बढाई रहेको छ ।
अर्कोतिर साविकको एमाले र साविकको माकेबीच एक अर्कोमा विलय भएको छ । यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामाकरण गरेको छ । यसले आफूलाई कम्युनिष्ट भएको सरकारमा दुईतिहाई बहुमत भएको र समाजउन्मुख नीति तथा कार्यक्रम ल्याउने घोषणा ग¥यो । तर उसले २०७५।०७६ को बजेटमा भने दलाल तथा पुजीपतिवर्गलाई संरक्षण गर्ने बजेट ल्यायो । यसरी आज (नेकपा) कम्युनिष्टको खोल ओढेको नामधारी कम्युनिष्टको रुपमा खडा हुन पुगेको छ । यसले जनतालाई कम्युनिष्ट नै भएको ठूलो भ्रम फैलाइरहेको छ । सारा मान्छेहरु यो कम्युनिष्ट नै हो भनेर भ्रममा परेर सरकारका पछि लागि रहेका छन् ।
यस प्रकारको परिस्थितिमा पार्टीलाई क्रान्तिकारी बनाई राख्नका निम्ति, सिंगो पार्टी पंक्तिलाई मालेमावादको सिद्धान्तले लैस बनाई राख्नका निम्ति र महान नेपाली नयाँ जनवादी क्रान्तिलाई विजयसम्म पु¥याउनको निम्ति मालेमावादको आवश्यकता झनै बढेर गएको छ । मालेमावादका आधारभूत सिद्धान्तहरुका विषयमा गहन अध्ययन गर्ने, व्यवस्थित रुपमा स्कुलिङ सञ्चालन गर्ने पर्ने आवश्यकता छ । पार्टी पंक्तिभित्र एउटा विडम्बना के छ, भने क्रान्तिकारी माओवादीको नेता, कार्यकर्ताहरुमा माओवादी भएकोमा त गर्भ छ, तर माओवाद भनेको के हो भन्ने कुरा थाह छैन । यसो हुनुको पछाडिको मूख्य कारण पार्टी पंक्ति भित्र स्कुलिङको कमी हो । सबै माओवादी क्रान्तिकारीहरुले मालेमावादलाई आत्मासात गरेर जीवनपद्धतिको रुपमा ग्रहण गर्न र जीवन व्यवहारमा लागु गर्नु जरुरी छ । आम पार्टी पंक्तिलाई सर्वहाराकरण गर्न, क्रान्तिकारी माओवादीका सम्पूर्ण नेता, कार्यकर्ताहरुले सर्वहारावर्गीय जीवन शैली र कार्य पद्धति अपनाएर रुपान्तरित हुन जरुरी छ । यी सबै कामलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्न मालेमावाद एक मात्र अचुक सैद्धान्तिक हतियार हो । मालेमावाद विश्वसर्वहारा क्रान्तिको लाल झण्डा हो । सर्वहारावर्गलाई मार्गनिर्देशन गर्ने एकमात्र पथप्रदर्शक सिद्धान्त भएकाले मालेमावाद आवश्यकता बढेर गएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु