माला (लघुकथा ) – डा. टीकाराम पोखरेल

२०७१ असार २५ गते, बुधबार


पार्टीले उम्मेदवारको नामावली घोषणा गरयो । उम्मेदवारको लिष्टमा उसको नाम पनि देखेर ऊ दंग परयो । श्रीमतीलाई घरमा फोन गरेर यो शुभसमाचार सुनायो । श्रीमतीले छिमेकी, नातागोता, शुभचिन्तकलाई यही समाचार रिले गरी । छिमेकी, नातागोता, शुभचिन्तक माला लिएर ऊ भएको ठाउँमा आइपुगे । यो लाममा केही कार्यकर्ता पनि थपिए । उसलाई माला लगाइदिनेको तँछाडमछाड चल्यो । घाँटीको माला थाम्न पनि उसलाई हम्मेहम्मे पर्यो । एकैछिनमा ऊ मालाले पुरियो । अबिर र मालाले पुरिएको अनुहारको बीचबाट ङचिच दाँत देखाएर माला लाइदिनेहरुलाई उसले नमस्कार गर्यो । अबिर र मालाले पुरिएर ऊ अर्कै संसारबाट यस लोकमा झरेको मनुष्य जस्तो देखिएको थियो ।
चुनाव प्रचारप्रसार गर्न ऊ गाउँ गाउँ पुग्यो । शुभचिन्तक र र्समर्थकहरुले उसको गलामा अरु पनि माला थपिदिए । माला मात्र होइन भोट दिने अश्वासन पनि दिए । उसलाई लाग्यो, मालाले उसको व्यक्तित्वलाई थप चम्किलो बनाइरहेछ । आफ्नो व्यक्तित्व चम्किलो बनाइदिएकोमा उसले मालालाई मनमनै धन्यवाद दियो ।
चुनाव भयो, परिणाम आयो, ऊ पराजित भयो । परिणाम उसको प्रतिकूल आएपछि हतार हतार उसले आफनो घाँटीको माला खोल्यो र हातमा माला बोकेर घरतिर कुलेलम ठोक्यो । हातमा बोकेको माला टिटेबलमा राखेर ऊ सोफामा थचक्क बस्यो ।
उता ऊ घर पुग्दा नपुग्दै उसको विपक्षीले चुनाव जितेको विजय जुलुस निकाल्यो । विजयीको गलाभरि माला ओइरियो । उसकै घरको बाटो हुँदै विजयी जुलुस आयो । उसले भ\mयालबाट तल सडकको विजयी जुलुसलाई चिहायो । विपक्षीको विजयी जुलुसमा पहिले उसलाई माला लगाइदिने र भोट दिन्छु भन्नेहरु पनि थिए ।
आफनो विपक्षी अर्थात् विजयीको गलाभरि माला देखेर उसलाई खपिनसक्नु भयो । मालादेखि उसलाई रिस उठ्यो । आफनै घाँटीबाट भर्खरै खोलेर टिटेबलमा राखेको मालालाई उसले घुरेर हेर्यो । मालामा उसले विपक्षीको अनुहार शिवाय केही देखेन । विपक्षीको घाँटी सिँगार्ने माला देखेर उसको रिसको पारो चढ्यो । दारा किट्दै टिटेबलको मालालाई जुरुक्क उचालेर धुजाधुजा पार्यो र बाहिर फाल्यो ।

प्रतिक्रियाहरु