‘मानव अधिकारलार्इ सिमित घेरा भित्र राखिदैछ’

२०७५ आश्विन १६ गते, मंगलवार

काठमाडौं , १५ असोज । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा भएको मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले अहिलेको राज्यसत्ता पुजीवादी व्यवस्था प्रणाली भएकै कारण देशमा भ्रष्टाचार, हत्या, हिंसा दिनप्रतिदिन बढ्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले पुजीवादी राज्यसत्ता छाडा हुने भएकाले पछिल्लो समय बालिकाहरु समेत बलात्कृत हुने क्रम बढेको भन्दै जनअधिकारका लागि वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता टड्गारो रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा रातो खबर प्रकाशनका निर्देशक गुणराज लोहनीले अहिलेको समस्याको मुख्य जड नै राज्य प्रणाली भएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समिति र कास्की शाखाको संयोजनमा पोखरामा भएको मानव अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै लोहनीले अहिलेको सबै समस्याको जड नै राज्य व्यवस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको प्रमुख समस्या नै राज्यसत्ता हो , राज्यसत्ता नै अहिले यस्तो बनेको छ जहाँ पुगेपछि जसलाई पनि भ्रष्ट बनाउछ, यो राज्य प्रणालीले जसलाई पनि भ्रष्ट बनाउछ ।’
नेता लोहनीले नेपालको कुनै पनि राजनितिक आन्दोलन निष्कर्षमा नपुगेकाले अहिलेको समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘२००७ साल पछिका आन्दोलनहरु निष्कर्षमा नपुगि टुंगिएकाले अहिले पनि जनताको अवस्था परिवर्तन हुन सकेन ।
देशमा हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भन्दै यसले पनि सरकार असफल भईसकेको प्रष्ट भएको उल्लेख गर्नुभयो । त्यसको पछिल्लो उदाहरण सत्तारुढ नेकपाका नेता माधव नेपालले संसदमा दिएको अभिब्यक्ति रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिले हामीले मात्रै होईन सरकारमै रहेका र समर्थन गर्नेले पनि आलोचना गर्छन्, संसदमै माधव नेपालले देश बचाउ भन्दै गीत गाउनुपर्ने अवस्था आयो ।’
पूजीवादी व्यावस्थाले जनताको जीवनस्तर माथि उठ्न नसक्ने मात्र नभएर हत्या हिंसा, बलात्कार जस्ता संस्कारको उत्पादन र विकास गर्ने पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय दैनिक जसो नाबालिकादेखि बृद्ध आमाहरु समेत बलात्कारमा परिरहेको घटना सार्वजनिक हुने गरेको छ, भ्रष्टचार, घुसखोर बढेको छ यो सबै राज्यसत्ताकै देन भएकोले यसको अन्त्य जरुरी छ ।’
मानवअधिकारलाई पनि पूजीवादीहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि प्रगोग गर्दै गएको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘मानव अधिकार अहिले सिमित घेरा भित्र राखिदैछ , त्यसैले अब जनताको अधिकारको कुरा गर्नुपर्छ ।’
अर्को प्रसंगमा उहाँले अहिलेका विग मिडिया हाउसहरु कर्पोरेट निगम पुजीवादबाट प्रभावित रहेको बताउनुभयो । ‘माओले भने झैं लुटेराहरुको राज्य साम्राज्यवादको भुमण्डलीकरण मिडिया क्षेत्रमा पनि प्रवेश गरेकाले मानवअधिकारलाई सिमिततामा संकुचित गर्न खोजिएको छ, सानासाना नानीहरु बाच्न पाउने अधिकार, बोल्न लेख्न पाउने अधिकार दिनप्रतिदिन खोसिदै गएका छन्, अझ शान्तिपूर्ण आवाजहरु बुलन्द गर्न नपाएका छैनन्, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका लोहनीले भन्नुभयो यस्तो अवस्था धेरै दिन कैद गरिए जनताले विद्रोह गर्नुको विकल्प छैन ।’
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिट ब्यूरो सदस्य श्रीनाथ अधिकारीले माफिया र गिरोहहरुले राज्य सञ्चालन गरिरहेको अवस्थामा वर्गीय पक्षधरता हुने भन्दै एक थरिलाई मात्र स्वतन्त्रता आएको बताउनुभयो । केपी ओली र हामीहरुले भनेको मानवअधिकार एउटै नभएको बताउदै उहाँले आफूहरुले भनेको मानवअधिकार श्रमजीवि वर्गहरुको हो, त्यसैले विप्लव नेतृत्वका नेकपाका मान्छेहरुलाई अहिले भूमिगत हुन राज्यले बाध्य पारेको बताउनुभयो ।
त्यस्तै उच्च अदालत बार एशोसियसनका अध्यक्ष रोहित बास्तोलाले २०४६ सालको परिवर्तनपछि पनि अहिलेसम्म मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा खासै सुधार हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो –‘२०४६ सालको परिवर्तनलाई आधार मान्ने हो भनेपनि ३० बर्ष वितेछ तर अहिलेसम्म मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अपेक्षित सुधार हुन सकेको छैन ।’
जिल्ला अदालत बार एसोशियसनका कास्कीका अध्यक्ष मुक्ति सापकोटाले संवैधानिक व्यवस्था अनुसार पनि मानवअधिकारको संरक्षण हुन नसकेको बताउनभयो । उहाँले भन्नुभयो –‘संविधानमा पनि राम्रो व्यवस्था छ, कानुन पनि बन्दै छ तर मानवअधिकारका घटनापनि उल्लंघन भईरहेको छ ।’
नेपाल पत्रकार महासंघका ४ नं. प्रदेशका सचिव रुद्र श्रीस मगरले मुलुकी ऐनबाट सिंगो प्रेस सशंकित भएको भन्दै पत्रकार महासंघ देशव्यापी आन्दोलित रहेको बताउनुभयो । मिडिया क्षेत्र आवाज विहिनहरुको आवाज बनाउन प्रेस स्वतन्त्रताको खाचो औल्याउदै यो अभियानले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सरकारले ल्याएको भदौ १ गतेदेखि लागु हुने मुलुकी देवानी तथा फौजदारी ऐनमा आपत्ति जनाउदै खारेजीको माग गर्नुभयो ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण बास्तोलाले लेख्न पाउने, बोल्न पाउने अधिकारलाई राज्यले खोसेको देख्दा मुलुक झन् संक्रमणकालमा अलमलिरहेको बताउनुभयो ।
नागरिक समाजका सञ्जालका विष्णु बरालले जिम्मेवार हुने निकाय राज्य नै उदासिन भएकै कारण कानुनमा रहेको अधिकार पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै ठाउँमा भागबन्डा छ, तिनीहरु भ्रष्टको अखडा बनेका छन् अब तपाईहरु खुल्ला रुपमा सडकमा आउनुहोस्, सबै जनताको समर्थन साथ हुनेछ र आन्दोलनलाई अघि बढाउनु बाहेक अरु कही छैन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु