माथिल्लो तामाकोशी हाइड्रोपावरकाे साधारण शेयर बिक्री खुला

२०७५ कार्तिक १५ गते, बिहीबार

काठमाडौं , १५ कार्तिक । निर्माण सम्पन्न हुनै लागेकाे माथिल्लो तामाकोशी हाइड्रोपावरले अाजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएका छन् । बिक्री प्रबन्धकको काम गरिरहेका नागरिक लगानी कोष र सनराइज क्यापिटलले यो आइपीओमा कात्तिक १९ गतेसम्म अावेदन दिन सकिने जनाएका हुन् । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन खुला रहनेछ । दोलखाको गौरीशंकर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको यस आयोजनाले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि शेयर निष्काशन गरिसकेकाे छ । अायाेजना प्रभावित स्थानीयका लागि वर्गीकृत रुपमा कुल चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरिसकेको हाे । स्थानीय बासिन्दाको आइपीओ पनि खुलेको ८ दिनमै मागभन्दा बढी अावेदन परेकाे थियाे, जसकाे बाँडफाड बुधबार गरिएकाे छ ।
अाजबाट बिक्री खुलेकाे शेयरमा देशैभरका नागरिकले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । ‘मेरो सेयर’का प्रयोगकर्ताले भने अनलाइनबाटै पनि आवेदन दिन सक्नेछन् ।
आयोजनाले गत साल २०७४ फागुनमा ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि समेत शेयर निष्काशन गरिसकेको छ ।
पहिलाे चरणकाे विद्युत उत्पादन सम्पन्न भएपछि यस आयोजनाले दोस्रो चरणमा रोल्वाङ खोलाबाट समेत १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाे छ । माथिल्लो तामाकोशीको विद्युत गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण कार्य पनि अघि बढिसकेको अायाेजनाले जनाएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार