माओवादी हेडक्वार्टरलाई खुला पत्र – विष्णु भट्टराई

२०७४ जेष्ठ ९ गते, मंगलवार

श्रद्धेय कमरेडहरु, लालसलाम !!
अस्ति भर्खरै एउटा राष्ट्रिय दैनिक नयाँ पत्रिकाले कार्यालय सदस्य कमरेड टोप बहादुर रायमझीलाई उद्घृत गर्दै माओवादी केन्द्र, स्थानीय तह निर्वाचन २०७४ को पहिलो चरणको मतपरिणामप्रति सन्तुष्ट रहेको खबर सम्प्रेषण गर्यो । साथै आज बसेको निर्वाचन समीक्षात्मक हेडक्वार्टर बैठकले त्यसलाई थप पुष्टि गर्दै “पहिलो चरणको निर्वाचनमा देखिएका सीमाहरुको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने” निर्णय गरेको पनि थाहा पाए । त्यस सम्बन्धमा आफ्नो मनमा लागेका केही जिज्ञसा मेटाउन यो पत्र लेख्दैछु ।
समिक्षा:
१)”पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको”
२)”संख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको”
३) सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जीत भएको” बैठकले निष्कर्ष निकालेको छ ।
मार्क्सवाद-लेनिनवाद र माओवादको वैचारिक पक्षधर एक युवा विद्यार्थी हुनुका नाताले म नेकपा (माओवादी केन्द्र) युवा भावनालाई गहिरोसँग वोध गर्ने सामर्थ्य राख्दछ अनि सोही अनुरुप आफुलाई जुझारु र क्रान्तिकारी बनाई सदा सर्वदा श्रमजीवी जनभावनाका पक्षमा दृढतापूर्वक वकालत गर्दछ भन्ने अपेक्षा पनि गर्दछु ।
गर्व गरियो :
– किनकि २०५२ साल फागुन १ गते सामन्तवादका विरुद्ध सुरु गरिएको जनयुद्ध पनि मुख्यतः युवाहरुकै जोडबल र पहलकदमीमा, उनीहरूकै प्रत्यक्ष सक्रियतामा विजयका अनेकन ईतिहास रच्दै देशको ८२% भन्दा बढी भूभागमा सार्वभौमसत्ताको पूर्ण रक्षा गर्दै “सम्पूर्ण राज्यसत्ता” चलाउदै बाँकीमा पनि लला झण्डा फहराउदै अघि बढेको थियो । त्यसैका निम्ति हामीले साढे १३ हजार भन्दा बढी आत्मियहरु गुमाएका छौं । हाम्रै कारणले सामन्तवादको रक्षक हुनाले र अरू केही निर्दोषहरुले पनि ज्यान गुमाए । तर जीवनको हिसाब गर्ने हो भने हामीले नै धेरै गुमायौं । तर “राज्यसत्ता” हाम्रो भएन ।
– २०६३ सालको ऐतिहासिक १२ बुँदे विस्तृत शान्ति-सम्झौता, जनआन्दोलन-२ अर्को कोर्षको सुरुवात थियो । २०६४ सालको संविधानसभाको निर्वाचन पनि युवाहरुले नै जितेर ईतिहास रचे । जनता आफै “जनसंविधान” लेख्न अग्रसर भए ।संविधानसभा विघटन भयो । संघर्षका हिसाबले हेर्ने हो भने त्यहाँ पनि हामीले नै धेरै (झण्डै बहुमतको गणतन्त्र नेपालको पहिलो सरकार, सेना) गुमायौं । तर “जनसंविधान” लेखिएन ।
– २०७० सालमा अर्को संविधानसभा निर्वाचन हामी जित्न मात्रै होईन “दुई तिहाई” विजय हासिल गरी गुमाएको सबै हिसाब मिलान गर्न अग्रसर थियौँ । बरू पार्टी फुट्यो । हामी पहिलोबाट दोस्रो पनि होईन तेस्रो भयौं । क्षतिको हिसाब गर्ने हो भने हामीले धेरै गुमायौं । तर “दुई तिहाई” पुगेन ।
– २०७४ सालसम्म आईपुग्दा सायदै संसारमै कसैले गर्नसक्छ होला तेस्रो ठूलो पार्टी हुँदा पनि सालिन, रचनात्मक अनि सहयोगी प्रतिपक्ष हुन जो माओवादीले गर्यो, “फरक मत” सहित सम्झौताको संविधान जारी गर्न मार्ग प्रसस्त गर्यो । एकातिर पार्टीबाट हस्तीहरु बाहिरिए अर्को तिर पार्टी एकताको लहर चल्यो । युवाहरू फर्किए । सरकारको कुशल नेतृत्व गर्दै अनेक उदाहरण रच्दै संविधान कार्वान्नवयनको अविभारा समेत वहन पनि गर्यो । जितको हिसाब गर्ने हो भने पनि उनीहरूले नै सर्वस्व जिते । जो प्रतिक्रियावादी थिए, यथास्थितिवादी थिए । हामीले नै धेरै गुमायौं । तर नेता-कार्यकर्ताको “फरक मत” अनुमोदन भएन ।
शंका पैदा भयो :
* “जनताको अभिमत” (माओवाद) बाट त धेरै पर (नवसंशोधनवाद तिर) पो पुगिसकिएछ की क्या हो । जहाँबाट फर्किन अब असम्भव प्रायः लाग्दैछ ।
र अन्तत: कहिले नटुंगिने गोलचक्कर (संसदीय भास) मा रुमलिदै त छैनौँ ?!
* दलाल पूँजीवादी संसदीय व्यवस्था अन्तरगत जनतामाथी थप एक “नयाँ अवसरवादी” मात्रै त थोपर्दै छैनौं कतै ?!
– यदि होईन भने हेडक्वार्टरले अब स्पष्ट जवाफ दिनुपर्छ की हाम्रो लक्ष्य के हो ?! हाम्रो बाटो कता तिर हो ?! कसरी हो हामीले हाम्रो लक्ष्य हासिल गर्ने ?!
म यो सबै किन पनि सोध्दैछु भने, कुनै बेला यो देशका एकजना कम्युनिष्ट नेता कमरेड मदन भण्डारी भन्थेँ अरे मैले ईतिहासमा पढेको “अहिलेलाई जनताको संघर्ष यति नै हो । अब बाँकी कुराहरू प्रजातान्त्रिक तरिकाले विस्तारै प्राप्त गर्दै जानुपर्छ ।” जसलाई हामी सबैले “जनताको बहुदलीय जनवाद” भनेर बुझिआएकाछौं । की त अब माओवादीले पनि निर्धक्क यसै भन्नुपर्यो । मदनले त्यसो भन्दा उ बेला हाम्राले के भन्थेँ ! त्यो आत्मसमर्पणका विरुद्ध होईन र हामीले जेहाद छेडेको ?!
अब निर्मम समिक्षा गर्ने बेला आइसकेको छ । हामी युवा यस्ता निरीह समीक्षाको पनि समिक्षा होस् भन्ने चाहन्छौं र क्रान्तिकारी निकासको अपेक्षा राख्दछौं । यस्तो रक्षात्मक कोणबाट समिक्षा नगरियोस् । युवाको सरोकारलाई अवमूल्यन नगरियोस् । माओवादीले जनभावनाको उच्च सम्मान र कदर गरोस् ।
यस्तै तदर्थवादमा आखिर कहिलेसम्म ?!
शीघ्र जवाफको प्रतिक्षा सहित,
लाल अभिवादन !!
२०७४/०२/०८
११:५५ बजे मध्यराति ।

प्रतिक्रियाहरु