माओवादी बागलुङद्वारा जनसरकार घोषणा

२०७२ माघ १३ गते, बुधबार

काठमाडौं , १३ माघ । नेकपा माओवादी, बागलुङले जिल्ला जनपरिषद् गठन गरेको छ । बाबुलाल शाक्य प्रमुख रहेको जिल्ला जनपरिषद् ११ सदस्यीय छ । यसै साता बुर्तिवाङमा भएको भेलाबाट २७ सदस्यीय जिल्ला जनप्रतिनिधिसभा समेत गठन गरिएको नेकपा माओवादीले जनाएको छ । क्रमिकरुपमा गाउँ र नगरमा समेत परिषद् गठन गर्दैजाने प्रमुख शाक्यले बताए । जिल्लाको राजकुत, देविस्थान र खुङ्गा गाविसमा गाउँस्तरको जनपरिषद् गठन भइसकेको उनको भनाइ छ । जिल्ला जनपरिषद्मा नन्दराम थापा, दिलबहादुर कुमाल, सुमित घर्ती, निशान विक, राधिका आचार्य, जीवन धराली, गोविन्द कार्की र लालबहादुर कुँवर सदस्य रहेका छन् । एकजना महिला उपप्रमुख पछि मनोनित गरिने प्रमुख शाक्यले जानकारी दिए । परिषद्ले स्थानीयस्तरमा जनचाहनाअनुसारका गतिविधि गर्दै जाने प्रमुख शाक्यले बताए । भ्रष्टाचार, महँगीजस्ता जनविरोधी कार्य रोक्न हस्तक्षेप र कारबाही अघि बढाउने उनले बताए । “नाकाबन्दीको मौका छोपेर कृत्रिम महँगी सिर्जना गर्ने र अकूत सम्पत्ति कमाउने कालो बजारीयालाई सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउँछौँ”– प्रमुख शाक्यले भने । उनले देशमा मौलाएको भ्रष्टाचारलाई निरुत्साहित गर्न विशेष अभियान थालिने बताए । नेकपा माओवादीले उत्पीडनमा पारिएका सबै वर्ग, जाति र समुदायले गरेका न्यायिक आन्दोलनलाई समर्थन गर्नेसमेत जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु