माओवादी केन्द्रमा भाले भिडन्त

२०७३ जेष्ठ १० गते, सोमबार

काठमाडौ, १० जेठ । नेकपा माओवादी केन्द्रमा पदको लागि भाले भिडन्त सुरु भएको छ । पदको भाग बण्डामा विवाद देखिएपछि केन्द्रका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन् । आज केन्द्रको बैठक दिउँसो १ बजे बोलाइएको छ । केन्द्रको बैठकअघि नै सहमति खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल तिब्रता दिएका हुन् । बिहान प्रचण्ड निवासमा उच्च तहका नेताहरुबीच छलफल भइरहेको उनको सचिवालयले जनाएको छ । पदाधिकारीको संख्या र मर्यादाक्रममा विवाद मिलेपछि आयोजक समितिको बैठक बस्नेछ । प्रचण्डले पार्टीमा ५ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष बनाउने प्रस्ताव पनि गरेका छन । बैठकमा पदाधिकारीको संख्या बढाउने सहितको प्रचण्डको प्रस्तावमा नेताहरुले आ आफ्नो भनाई राख्ने छन् ।
अध्यक्ष प्रचण्डले हिजो सुरु पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टीको सांगठानिक संरचना र नेताहरुको कार्य विभाजनका सन्दर्भमा दुई विकल्प प्रस्ताव गरेका छन । आज त्यही विषयमा सदस्यहरुले भनाई राख्नेछन् । १० माओवादी घटक मिलेर बनेको केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एजेन्डा पेश गर्दै जेठ भित्र सबै जिल्लामा एकता भेला आयोजना गर्ने प्रस्ताव राखेका छन । पार्टी एकतापछि केन्द्रीय समिति ठूलो भएकाले पूरानो एमाओवादीको मुख्यालय पेरिस डाँडामा नअटेपछि पुरानो बानेश्वरको एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक राखिएको छ ।

प्रतिक्रियाहरु