माओवादी केन्द्रको राष्ट्रिय भेला कात्तिक १० देखि

२०७३ आश्विन १० गते, सोमबार

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रले आगामी कात्तिक १० र ११ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ ।माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि राष्ट्रिय भेला बोलाउने निर्णय गरेको बताएको छ । माओवादी केन्द्रीय सचिवालयको सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो ।
भेलाले पार्टीको नयाँ राजनीतिक कार्यदिशा तय गर्ने पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिए । पुसमा गर्ने भनिएको महाधिवेशन नयाँ सरकार गठनसँगै स्थगित भएपछि माओवादीले राष्ट्रिय भेला डाक्ने निर्णय गरेको हो । भेलामा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
बैठकले आगामी निर्वाचनको तयारीका लागिसमेत पार्टी संगठनहरुलाई चलायमान बनाउने निर्णय गरेको छ । राष्ट्रिय भेलाले हालको जम्बो महाधिवेशन आयोजक समितिलाई नै कायम राख्ने कि नयाँ संरचना बनाउने भन्ने विषयमा पनि निर्णय लिने बताइएको छ । हालको झन्डै २५ सय जनाको महाधिवेशन आयोजक समितिलाई घटाउन माओवादी केन्द्रभित्र दबाव छ ।

प्रतिक्रियाहरु