माओवादी एकता अपरिहार्य : प्रचण्ड

२०७१ चैत्र १४ गते, शनिबार

काठमाडौं,१४ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी धारका दलबीच एकता अपरिहार्य भएको बताएका छन् ।
विभिन्न ६ वटा माओवादी घटकद्वारा शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले प्रतिक्रियावादी वर्ग एकजुट भएर सबै माओवादी सकाउने षड्यन्त्रमा लागेकाले मिल्नुपर्ने बेला आएको बताएका हुन् । संविधानसभाभित्र र बाहिर रहेका सबै माओवादीलाई कमजोर पारेर सकाउने खेल भइरहेको प्रचण्डको दावी थियो ।‘अरु विषयमा विवाद भए पनि माओवादीलाई लखेट्न प्रतिक्रियावादी एकजुट भएका छन्’, प्रचण्डले भने, ‘परिस्थितिले हामी माओवादीहरुलाई एकै ठाउँमा उभिन बाध्य पारेको छ ।’ प्रचण्डले मिल्नुपर्ने बेलामा विगतमा भएका कमजोरीको दोष एकअर्कालाई लगाएर आफू सही सावित हुने कोसिस नगर्न माओवादी समूहहरुलाई आग्रह गरे ।
उनले माओवादीहरु टुक्रटुक्रामा विभाजित भएको र संविधानसभामा पनि कमजोर भएको मौका छोपेर प्रतिक्रियावादीले राजनीतिक र कानूनी दुवै हिसाबले पेल्न खोजेको उल्लेख गरे । यद्यपि माओवादी आन्दोलन कमजोर भएको भ्रममा नपर्न उनको चेतावनी दिए ।
‘देशभरका माओवादी माओवादी छाडेर काँग्रेस, एमाले र राजावादी भएका छैनन्, उनले भने, ‘माओवादीका जनता र कार्यकर्ता माओवादी नै छन्, सबै मिलेर सडकमा एकपटक गर्जने हो भने कानून सानून च्यातेर रहलपहल क्रान्तिको कार्यभार पुरा गर्न सक्ने अवस्था अझै छ ।’ सबै माओवादीमा हरेका कार्यकर्ता र जनता माओवादी मिल्नुपर्ने पक्षमा रहेको भन्दै उनले जनचहना बुझेर अघि बढ्न माओवादीधारका अरु दललाई आग्रह गरे ।
उनले काँग्रेस–एमाले आफूहरुलाई युद्धकै बेला सिध्याउने रणनीतिमा रहेको र अहिले पनि सिध्याउने रणनीतिमै रहेको भन्दै आश्चर्यका रुपमा नलिन कार्यकर्तालाई आग्रह गरे । उनले सबै माओवादीलाई एउटै खाल्डोमा हाल्ने रणनीतिमा काँग्रेस–एमाले रहेको भन्दै एकताको आवश्यकताबारे गम्भीर हुन भने ।
‘विगतमा कोबाट कति कमजोरी भएको छ, त्यसको समीक्षा गर्दै जाऔंला’, प्रचण्डले भने, ‘विरोधीले घेरा हाल्ने, कमजोर पार्ने र सखाप पार्ने अभियान चलाएका बेला एकले अर्कालाई खुइल्याउने र भित्तामा टाँस्ने काम बन्द गर्नुपर्छ ।’ उनले एकातिर युद्धकालिन मुद्धा ब्युँताएर सबै माओवादीलाई गिरफ्तार गरेर यातना दिने अभियान थालिएको र अर्कोतिर राजनीतिक सहमति उल्टयाउने काम एकैसाथ अघि बढेको बताए । सत्तारुढ दल र अदालत विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म र भावनाविपरीत अघि बढेको आरोप उनको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु