माओवादीद्वारा वकिलमाथि कालोमोसो

२०७२ बैशाख ८ गते, मंगलवार

काठमाडौं, ८ बैशाख । नेकपा माओवादीले जाली किर्ते कागजजात तयार गरी ठूलो संख्यामा सर्वसाधारणको जग्गा अरुको बनाउन भूमिका खेलेको भन्दै एक वकिलमाथि दिउसै कालोमोसो दल्दै जुताको माला लगाएको लगाएको छ । माओवादी बाँके जिल्ला समितिले बाँकेका कानुन व्यवसायी सुकैलाल वर्मामाथि यस्तो कारवाही गरेको हो । आज बिहान नेपालगञ्जको चारबाहिनी चोकमा कानुन व्यवसायी वर्मामाथि कालोमोसो तथा जुताको माला लगाइएको हो । जग्गाको कारोबार र बिभिन्न मुद्दाहरुबाट ठूलो पैसा कमाएका बर्मामाथि जनयुद्धकालमा पनि माओवादीले कारवाही गर्न खोजेको थियो । तर, उनी पछि आफै माओवादीमा प्रवेश गरेर बच्दै आएका थिए । उनी पछिल्लो समय एमाओवादीमा आवद्ध रहेका थिए ।
कारवाहीपछि विज्ञप्ती जारी गर्दै माओवादी बाँकेका सेक्रेटरी मानबहादुर रोकाया (शक्ति)ले विज्ञप्ती जारी गर्दै वर्मामाथि जनकारवाही गरिएको जनाएका छन् । विज्ञप्तीमा वर्माले बिभिन्न जाली तमसुक र किर्ते कागजजात तयार गरी सर्वसाधारणको जग्गा आफ्नो र आफ्नो आफन्तको नाममा बनाएको उल्लेख गरिएको छ । त्यसका धेरै प्रमाणहरु आफूहरुसँग सुरक्षित रहेको दावी पनि विज्ञप्तीमा गरिएको छ ।
सेक्रेटरी शक्तिले चेतावनीस्वरुप उनीमाथि यो कारवाही गरेको जनाएका छन् । यसलाई वेवास्ता गरे भावी दिनमा अझ भयानक परिणाम आउने पनि चेतावनी दिइएको छ ।
बर्माले बाँकेको हिरमिनिया गाविसका मुराउ परिवारको, गनापुर गाविस कोठारपुरुवा–१ मा बस्ने ७५ वर्षीय तेजराम बाहुनको, फत्तेपुर–७ भेलुनियाका सीया कुमारी सिंह ठकुरानीको जग्गा जाली तमसुक र किर्ते कागजजात तयार गरी हडपेको बताइएको छ । उनले सो जग्गा आफू आफ्नो श्रीमती र आफ्ना आफन्तका नाममा गराएको विज्ञप्तीमा जनाइएको छ ।
बर्माले वर्षौदेखि सो जग्गामा बसोबास गर्दै आएका किसानलाई उठिबास लगाएकाले कारवाही गर्नु परेको विज्ञप्तीमा बताइएको छ । विज्ञप्तीमा ‘पुरानो राज्यको सरकारी र गैर सरकारी संयन्त्रलाई आफ्नो गलत उद्देश्य प्राप्तिको लागि उपयोग गरी अनुचित लाभ लिने’ गरेको दावी गरिएको छ । साथै उनी यस्ता गिरोहको नाइकेको रुपमा रहेको बताएका छन् । कानून व्यवसायी बर्मासँग अहिले पनि ऋणीको नाम खोली साहुको नाम नभएका करिब एक सय बढी जाली तमसुक रहेको दावी बाँके माओवादीले गरेको छ । विगतमा तत्कालीन नेकपा माओवादीले हिरमिनिया लगायतका गतिविधिहरु थाहा पाई कारबाही गर्न खोज्दा उनी गाउ‘बाट भागेको र पछि उनी माओवादीमै प्रवेश गरेका बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु