माओवादीद्वारा भारतका ६ राज्य बन्द

२०७५ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौं, ११ जेठ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आज ६ राज्य बन्दको आह्वान गरेको छ । जनताको नसंहार गरेको भन्दै उसले आज ६ राज्य बन्दको आह्वान गरेको हो । गत अप्रिल २३ र२४ मा महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा भएको नरसंहारको विरोधमा माओवादीले आज ६ ओटा राज्य बन्दको घोषणा गरेको बताएको छ । बन्दको पूर्वसन्ध्यामा विहीबार माओवादी सेनाले थापेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुकमा जिल्लामा २०६ कोब्रा बटालियनका इन्सपेक्टरको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । सोही घटनामा आधा दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।
आज विहानै माओवादी सेनाले छत्तिसगढ राज्यको कङ्कड जिल्लाको टकोडीस्थित भारतीय हन्ट पार्टीका बिधायक उसेंडीको फर्महाउसमा बम विस्फोट गराएका छन् । छत्तिसगढका मुख्यमन्त्री रमण सिंहले माओवादीविरुद्ध आक्रमक नीति लिएसँगै द्वन्द्व झन् बढेको छ । उनले आदिवासीविरुद्ध ‘बस्तरिया डिभिजन’ बनाएका छन् । एक महिनाअघि भारतको महाराष्ट्र राजयको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा भएको आम नरसंहारको विरोधमा माओवादीको ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरोद्वारा आज मध्यप्रदेश, आन्ध्र, ओडिसा, महाराष्ट्र, छत्तिसगढ र तेलङ्गना बन्द गरेको छ । बन्दका कारण यातायात, उद्योग कलकारखना, विद्यालय, बजार प्रभावित भएका छन् ।
जनमेल अनलाइनका अनुसार मे १९ देखि २५ सम्म ‘प्रतिरोध सप्ताह’ मनाइरहेको माओवादीले बन्दको प्रचारका लागि पर्चा, पोस्टरका साथै ठाउँठाउँमा तुल पनि टाँगेको छ । विकासका नाममा विदेशी कम्पनीलाई मुलुकको प्राकृतिक स्रोत साधन जिम्मा लगाउने र वर्षौँदेखि बस्तै आएका आदिवासीहरूलाई मूल ठाउँबाट हटाउने सरकारी निर्णयको माओवादी पार्टीले विरोध गर्नुका साथै प्रतिरोध कार्यक्रम पनि गरिरहेको छ । आदिवासीहरूलाई माओवादी भन्दै धरपकड, हत्या र बलात्कार गर्ने कार्य पनि भइरहेको भन्दै माओवादीले जल, जमिन र जङ्गल आदिवासी जनताको अधिकारको कुरा हो र यसको पक्षमा सदैव लड्ने घोषणा पनि गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु