माओवादीको बन्दसत्रमा एकीकृत जनक्रान्तिलाई घनिभूत बनाउन माग

२०७३ फाल्गुन ८ गते, आईतवार

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी) को महाधिबेशनको बन्दसत्रमा विभिन्न विषयमा समूहगत छलफल जारी छ । रोल्पाको थवाङ्गस्थित सहिद सभा हलमा जारी बन्दसत्रमा आजपनि बिहान आठ बजेदेखि नै समूहका नेताबाट सुझाव पेश भइरहेका छन् । बन्दसत्रमा प्रस्तुत विधान र महासचिवको राजनीतिक प्रतिवेदनमाथि समूह छलफलको लागि विभाजन गरिएको ब्यूरो अनुसारको २१ वटा समूह मध्ये १५ वटा समूहका नेताले सुझाव र निष्कर्ष पेश गरिसकेको बताइएको छ । बन्दसत्रमा एकीकृत जनक्रान्तिमा सशक्त रुपमा होमिन नयाँ नेतृत्व तयार हुनुपर्ने दबाब बढ्दै गएको बुझिएको छ । सबैजसो समूहबाट तत्काल सशक्त जनक्रान्तिमा होमिनुपर्ने सुझाव पेश भइरहेका छन् । विदेशी दलालको तीव्र हस्तक्षेपले देश विखण्डनतिर जान लागेको र ‘जनयुद्ध’ को उपलब्धि समेत धरापमा पर्ने खतरा बढेको उल्लेख गरेका छन्।
‘भ्रष्ट, दलाल र जनविरोधीको विरुद्धमा सशक्त कारबाही गर्दै जनक्रान्तिलाई घनिभूत बनाउनुपर्ने, सत्ता दमनमा उत्रिए हात बाँधेर बस्नु नहुने सुझाइ आएका छन्। बन्दसत्रमा जनविरोधीलाई प्रहार गर्नैपर्छ । यदि ‘राज्यदमन’ भयो भने हातमा दही जमाएर व्बस्नु हुन्न भन्ने प्रतिनिधि पर्यवेक्षकको मत शक्तिशाली बन्दै गएको बताइएको छ ।’ यसैगरी , बन्दसत्रमा पार्टीको नाम फेर्ने प्रस्तावको पक्षमा मत बलियो बन्दै गएको छ । ‘पार्टीको नाम फेर्ने सन्दर्भमा पनि समूहको सुझाव सकारात्मक छ । नाम फेर्दा उपयुक्त हुने सुझाव नै आइरहेका छन्’, एक नेताले भने, ‘कतिपयले पार्टीको नामबाट माओवादी हटाउदा जनयुद्धको लिगासी गुम्छ कि भन्ने चिन्ता पनि प्रस्तुत भएका छन् ।’ एकीकृत जनक्रान्ति जनताको पक्षमा हुने भन्दै राज्यदमन भएपनि प्रतिरोध गर्न आँट्नुको विकल्प नभएको समूहबाट सुझाव आएका छन् । पार्टीको संगठनात्मक ढाँचा साविककै हुनुपर्नेमा मत समेत बलिायो बन्दैछ । संघीयता मुलुकको आवश्यकता बन्दै गएकाले संघीय ढाँचा अनुरुपकै संगठन बनाउन उपयुक्त हुने सुझाव पनि आएका छन् । संघीय ढाँचा अनुसारको संगठन बनाउँदा ‘दलालहरुको निगाहमा जारी संघीय संविधान’ स्वीकार गरेको भ्रम हुनसक्ने बारे पनि सचेत हुनुपर्ने मत पनि देखिएको छ।
महासचिव प्रणाली नै उपयुक्त हुने सुझाव नै वलियो बन्दै गएको छ ।
‘अन्तरराष्ट्रिय इतिहासमा कम्युनिष्ट अभ्यास हेर्दा अध्यक्षात्मक प्रणालीको पनि प्रयोग भएको देखिन्छ,’ पार्टी प्रवक्ता ‘प्रकाण्ड’ ले बन्द सत्र सुरुकै दिन भनेका थिए, ‘नेपालमा महासचिव प्रणाली नै ठिक हुन्छ ।’ महासचिवको प्रतिवेदनमा भाषागत र शाब्दिक अर्थ आसयका तहमा मात्र सुझाव पेश भइरहेको जनाइएको छ । ठूलो अन्तरका फरक मत देखिएका छैनन् । एकीकृत जनक्रान्तिलाई अझ ठोस रुपमा परिभाषित गर्दै प्रशिक्षित गर्न प्रतिनिधि पर्यवेक्षकले माग पनि गरेका छन् ।
नेताको सुझाव र निश्कर्ष सोमबारसम्म प्रस्तुत भइसक्ने छन् । समूहबाट प्रस्तुत सुझावलाई एकीकृत गरी सकेपछि विधान र राजनीतिक प्रतिवेदन सोमबारसम्म पारित हुनेछ । त्यसपछि नयाँ नेतृत्व चयन हुने अनुमान गरिएको छ ।
बन्द सत्र सकिएपछि फागनु १४ गते ‘जनयुद्धका सहिद’, घाइते, अपांगलाई सम्मान गर्दै सभा गर्ने तयारी भइरहेको बुझिएको छ । सभालाई महासचिव विप्लवलगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु