माओबादको बिसर्जन र जनताप्रतिको अपराध – झपेन्द्रराज वैद्य

२०७४ फाल्गुन १४ गते, सोमबार

मा.के र एमालेको एकीकरण कुनै अनौठो कुरा होइन । यो हुनुपथ्र्यो भयो। अझै पनि माकेमा कम्युनिष्टको केही भ्रम थियो। त्यो नाङ्गो भएको छ। बिष्णुमतिको फोहर र बागमतीको फोहर मिलेर बनेको संगम हो बाम एकीकरण। भेंडा भेंडातिरको बथानमा हुन्छन्। गाई गाईको बथानमा। यो प्राकृतिक नियम हो। राजनीति क्षेत्रमा पनि क्रान्तिकारीहरु एकातिर हुन्छन्। संशोधनबादीहरु अर्को तिर।
हर्ष,उमंग,क्रोध,पीडा,निराशा र अभिलाशा मानब जातिका प्राकृतिक स्वभाव र मूल्यमान्यता हुन। मानिस सरल रेखामा होइन बक्ररेखाबाट हिडेको हुन्छ। कहिले खुसी त कहिले दुःख, फेरि पनि खुसी जीवनका अनुभूति हुन्छन्। २०५२ सालबाट ने.क.पा माओबादीबाट संचालित जनयुद्धले पनि सरल रेखाबाट नगएर अप एण्ड डाउन हुदै देशको ८० प्रतिशत भूभाग ढाकेको हो। तीन महिना टिक्दैन भनेको जनयुद्ध बनमा लागेको डढेलोजस्तै देशै भरि फैलेको हो। पञ्चायत कालमा कुइनाले हान्दा पहरा थर्कदैन भनेर सबभन्दा पहिला बापन्थी भनिनेले भन्ने गर्थे। तिनीहरुले राजाको गुणगान गाउन न्वारान देखिको बल लगाएकै हुन्। किलो सेरा टु र सर्च एण्ड किल आदि प्रकृया अपनाएर बनमा घाँस दाउरा काटनेलाई पनि छोडेन प्रतिकृयाबादी सरकारले। दियाउलीमा गएका नागरिकहरु पनि घर फर्कन पाएनन्। राजनैतिक लडाइं लडनेलाई आतंककारी घोषणा गरी क्रुर तानाशाही बन्यो सरकार। झोला भरि टाउका लिएर आऊ गोजी भरि पैसा लिएर जाऊ भनी एउटा टाउकाको ५० लाख मोलतोल गरेर राणा शासन भन्दा एक कदम अगाडि बढ्यो सरकार।
आज स्थिति बिलकुल उल्टो भएको छ। टाउकाको मूल्य तोकने चाँहिँ सहयात्री बनेका छन् भने जनयुद्धका सहयात्री बनेर कमाण्डरको बचाउगर्ने चाहिँ दुश्मन बनेका छन्। छुट्टै बर्ग बनेको छ। संशोधनबाद बाजा बजाएर आउदैन भन्छन्। कम्युनिष्ट पार्टीको नाम देखाएर रुसी नेता यल्तसीनले जस्तै कम्युनिष्ट पार्टीलाई समाप्तपार्न नेपालमा संसदबादी नेताहरु लागीपरेका छन्। फ्रान्समा मिलेराँले, जर्मनमा सिदेमानले संसदीय ब्यवस्था सामु आत्मसमर्पण गरे भने चीनमा तुस्यू र भारतमा ज्योतिबसुले परम्पराबादी संसदीय ब्यबस्था सामु आत्मसमर्पण गरे। नेपालमा भन्ने हो भने २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले धेरै आँधीबेरीको सामना गर्दै अगाडि बढेको अवस्था छ। केशर जंग रायमाझी जस्ता महामन्त्री भएको मानिस राजतन्त्रको जूठो पूरो खान दरवार भित्र पसे। त्यसपछि नेपालमा कम्युनिष्टको बिकास हुदैजादा महान जनयुद्धको उत्कर्षको समयमा भारतमा १२ बुँदे संझौता गरियो। यसै संझौताबाट प्रचण्ड र बाबुरामको पहलमा संशोधनबाद घुस्यो नेपाली कम्युनिष्ट आन्दोलनमा। यो चोर ढोकाबाट भित्र पस्यो। लडाइं लडदा जनताको धेरै क्षती हुन्छ भनेर अब शान्तिपूर्ण आन्दोलन मार्फत नयाँ जनबाद आउँछ भनेर डंकापिटियो। त्यही अनुसार २०६३ मा बृस्तृत शान्ति संझोता गरी जनताको रगतबाट साटेर ल्याएको हतियार प्रतिकृयाबादी सरकारलाई त्वम शरणम् भनी बुझाइयो। पार्टीमा दुई लाइन संघर्ष चल्यो। क. मोहन बैद्य किरण र क.नेत्रबिक्रम चन्द बिप्लभको नेतृत्वमा बिद्रो्ह चल्यो। ने.क पा.माओबादी छुट्टै पार्टी बन्यो। यसले निरन्तर संघर्ष अगाडि बढाएको बुझिन्छ। तीन महिने अभियान लिएर नेकपाले प्रशिक्षण र भण्डाफोर कार्यक्रम चलाइरहेको अवस्था छ। यसै सन्दर्भमा हिँज फागुन ४ गते बिराटनगरमा एउटा कालो इतिहास जोडिएको छ।
कहिँ नभएको जात्रा हाडि गाउँमा भने जस्तै एमाले नेता तथा प्रधानमंत्री के पी वलीले नेकपालाई उत्तेजित पारेर देशको शान्ति खलबलाउने षडयन्त्र गरेका छन्। देशलाई फसाउने र जनता तर्साउने नाइकेकारुपमा उनी उपस्थित त भएका छैनन् ? दलालहरुको रक्षाका लागि का्रन्ति प्रति प्रहार गरेका त होइनन्? भन्ने जनधारणा छ। ठीक छ राज्यले आफ्नो सत्ताको सुरक्षाको लागि सुरक्षाकर्मी लगाउन सक्छ तर निशस्त्र शान्तिपूर्ण तरिकाले हिँडेकालाई बिनाकारण पकडाउ गर्न सक्दैन। मानब अधिकारको १९४८ को बिश्वब्यापी घोषणले जनतामा बिद्रोृह गर्नपाउने अधिकार दिएको छ। यस कुरालाई यसै २०७२ को संबिधानमा पनि उल्लेख गरिएको छ। तर उनले एकपटक फेरि संबिधानबाट प्राप्त जनताको सूचनाको हक र शान्तिपूर्ण तरिकाले सभा गोष्ठी सञ्चालन गर्ने अधिकार खोसेका छन्। उनी प्र.म भएको तीनै दिनमा बिराटनगरमा हुनगैरहेको नेकपाको निकट मानिने युबक तथा स्वयंसेवक दस्ताको सम्मेलनलाई बिथोल्ने दुस्प्रयास गरेका छन्। स्थाइ समिति सदस्य क. सुदर्शन सहित करीब दुई सय जनालाई। गिरफ्तार गरेर फेरि पंचायती कालरात्रीलाई स्मरण गराएका छन्। सभास्थलमा आउदै गरेका करीब १५।१६ वटागाडी बाटैमा रोकेका छन्। तहसनहस ताण्डब नृत्य छ। यसको बिरोधमा झापा मोरंग बिराट नगर आदि दर्जनौ ठाउँमा नाराजूलुश भएको मेडियाबाट बुझन सकिन्छ। तर दिउस केही अबेर गरी सुनसरीमा राष्ट्रिय सम्मेलन सफल पारेको बुझिन्छ। प्रथम गासमानै ढुङ्गा लागेको छ। दिनको संकेत बिहानले गर्छ भनेजस्तै जनता तर्सिएको अवस्था छ। उनले मधेशमा पनि सयौं मानिस मारेर मधेशी जनतालाई उत्तेजित पारी क्षेत्र नं. २ को निर्वाचनमा आफ्नै पार्टीलाई घाटा खुवाए। ओलीको खोक्रो राष्ट्रबाद अहिले उदांगो भएको छ। प्रधानमंत्रीमा पदासिन नहुदै भारतीय बिदेश मन्त्री सुष्मा स्वराजसँग सोल्टी होटलमा भएको वन टु वन वार्ता अझै गोप्य राखिएको छ। यसैलाई भन्छन् बेमौशमी बाजा। पहिलो भेट बहालवाला प्र.म.शैर ब. देउवासँग नभएर भावी प्र.म.सँग हुनु कुटनैतिक मर्यादा बिपरित भएको राजनैतिक बृतमा चर्चाको बिषय बनेको छ। बिस्तारबाद निकै सलबलाएको छ अहिले। बिस्तारबादले पहिले त प्रचण्डलाई उचालेको हो। अहिले भने प्रचण्डलाई बिसाएर प्रधानमन्त्रि के.पी.वलीलाई धेरै माथि उचालेको छ।
भारतीय संस्था रअले प्रचण्डलाई निबस्त्र पारेको छ। यहाँ सम्म कि फागुन ७ गते गरिएको संझौतामा ज.ब.स.लाई शिरोधार्य गरी माओबादको अपराधीकरण गरेका छन्। माओबादको नाममा म पनि राखिएको छैन पार्टी एकीकरणको सहमतिले अलिकति बाकी रहेको कम्युनिष्टको भ्रम पनि साफ गरिदिको छ। भन्नलाई त जे भने नि हुन्छ। सब भन्दा ठूलो काम र ब्यबहार हो। कम्युनिष्ट सिद्धान्त, नीति र न्यूनतम आदर्शलाई तिलाञ्जलि दिइसके पछि कम्युनिष्ट भन्ने अब कहीं कतै पनि ठाउँ रहेको छैन। तर पनि मा.के.मा धेरै जसो नेता र कार्यकर्ता क्रान्तिमार्फत जनयुद्धको आदर्श र सहीदहरुको सपना साकार पार्ने पक्षमा छन्। हनुमानहरु भने आफ्नो स्वार्थपूर्तिका लागि शीर्ष नेताहरुको चक्करलगाएकै हुन्छन्। एमालेमा पनि जुझारु क्रान्तिकारीहरु केहीरुपमा पाउनसकिन्छ। हाम्रो चाहना हो देशमा स्थिरता, बिकास र समृद्धि होस्। तर परिणाम यसको उल्टो देखापरेको छ। मुलुक दलाल पुँजिबादमा फसेको छ। अब पार्टी भन्दा माथि उभिएर क्रान्तिकारी र परिवर्तन चाहनेहरु एक ढीक्का हुनुपर्दछ। पूर्ण लोकतन्त्र भनेको फसीबाद हो वा स्वतन्तता? के जंगे पिलर हराएको छ भन्न पाइदैन? के राजस्व नतिर्र्नेेलाई राजस्व छली भन्न पाइदैन। कहाँको नियम हो यो देश लुटियो भन्दा गिरफ्तारी दिनुपर्छ। यो त धेरै अचाक्ली भयो। यसैले त सतिले सरापेको देश भन्दा होलान् मानिसहरु। अहिले संसदबादीहरु प्रचण्डको ढाडमा टेकेर क्रान्तिकारीहरुको शिरमा हिर्काउदै छन्। मुखले भनेरमात्र समाजबाद हुदैन। भन्न त महेन्द्रले पनि समाजबाद भन्दथे। गिरिजाले पनि समाजबादकै नाम भजाएका हुन। खै समाजबाद? समाजबादको मान्यता के हो? मापदण्ड के हो? न्यूनतम आधारभूत कुरा के के हुन। साशन फासिबाद भन्नलाई समाजबाद? समाजबाद हो भने दलालहरुले कुम्ल्याउने समाजबाद हो यो। समाजबादमा त योग्यतानुसार काम, काम अनुसार माम हुन्छ। ग्यारेण्टी साथ सबैलाई रोजगारी हुन्छ। शिक्षा स्वस्थ निशुल्क हुन्छ। कालाबजारी भ्रष्टाचारी र बलत्कारीहरुको समाजमा हैकम हुदैन। भ्रष्ट मान्छेहरुले सांसद बन्ने मौका पाएका हुदैनन्। साम्यबादको कुरागर्ने हो भने योग्यता अनुसार काम आवश्यकतानुसार माम हुन्छ। तर यो अलि परैको कुरा छ।
मानव अधिकार कर्मी र पत्रकारको नाताले यस पंक्तिकारले भन्न खोजेको कुरा के भने स्वतन्त्रता सहित मौलिक अधिकारको बाँध थुनिदिने हो भने परिणाम के होला? अहिले नै शान्तिपूर्ण अवस्थामा बिद्रोहीलाई जिस्काउने र उत्तेजित पार्ने हो भने जनतामा के असरपर्ला भन्ने हो। साँडेको लडाईं बाच्छाको मिचाइ नहोस भन्ने हो। आत्मघात नहोस भन्ने कामना हो। देशमा शान्ति होस भन्ने अपेक्षा हो। बिना कसुर गिरफ्तार गरिएका ने.क.पा.का नेता सुदर्शन सहित सबैलाई बिनाशर्त रिहागरेर संबिधानको पालना गरियोस। मानबअधिकार कर्मी र स्वतन्त्र पत्रकार यही सचेत गराउन चाहन्छौं।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु