महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियान सम्पन्न

२०७१ मंसिर २७ गते, शनिबार

काठमाडौं ।हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सकिएको छ । ‘शान्ति नै विश्व शान्तिको आधार, महिला हिंसा विरुद्ध शुन्य सहिशुणता कायम गरौं भन्ने नारासहित यसवर्ष पनि मनाइएको १६ दिने अभियान बुधबार सकियो ।तर महिला हिंसाविरुद्धको अभियानका क्रममा काठमाडौंका होटलतिर अन्तरक्रियालगायत विभिन्न जनचेतनामुलक कार्यक्रम भैरहँदा मुलुकका विभिन्न जिल्लामा भने महिला हिंसाका घटना भैरहे ।
राष्ट्रिय महिला आयोगमा यही नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्ममा महिला हिंसाका १५ वटा उजुरी दर्ता भएका छन् । ती मध्ये ११ वटा घरेलु हिंसा छन् भने ४ वटा महिला हिंसा ।
ओखलढुंगा, सिन्धुपाल्चोक, बाँके, नवलपरासी, रुपन्देही, दाङ् र काभ्रेबाट एकएक वटा घरेलु हिंसाको उजुरी परे भने काठमाडौंबाट मात्रै चार वटा उजुरी परेका छन् । यसैगरी झापा, रामेछाप, काभ्रे र रुकुमबाट एक एक वटा महिला हिंसा विरुद्धका उजुरी १६ दिने अभियान चलिरहेको बेला आएका छन् । यी उजुरीको सुनुवाई हुन कम्तिमा चार महिना लाग्ने राष्ट्रिय महिला आयोगका सदस्य उर्मिलादेवी विश्वकर्माले बताउनुभयो ।
महिला भएको कारणबाट महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुर्व्यवहारहरूलाई महिला हिंसा भनिन्छ । महिला पुनस्थापना केन्द्र ओरेकका अनुसार महिला हिंसा विरुद्धको १६ दिने अभियान डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीबहिनीहरूको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासँग जोडिएको छ ।
यस घटनालाई लिंगको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । यसै अनुसार पेट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई उनीहरूको सम्झनामा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन सुरु गरियो ।
पछि संयुक्त राष्ट्रसंघले पनि १९९० देखि नोभेम्बर २५ लाई महिला हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् १९९७ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
तर विश्वमा दिवस मनाउन सुरु गरिएको २४ वर्ष पुग्दा पनि महिला विरुद्ध हुने गरेका हिंसा भने अझै पनि यथावत छन् । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार विश्वभर ३५ प्रतिशत महिला तथा किशोरी आफ्नो जीवनकालमा कुनै न कुनै रूपमा शारीरिक र यौनिक हिंसामा पर्ने गरेका छन् । संसारभर १० मध्ये ७ महिला तथा किशोरी यौन हिंसामा पर्छन् । पछिल्लो समय महिलामात्र नभई पुरुष पनि यौनजन्य हिंसामा पर्ने गरेको घटनाहरु सार्वजनिक हुने गरेका छन् ।
यस्ता घटनालाई हटाउन महिलासँगै पुरुषको पनि सहभागिता आवश्यक देखिन्छ । यसरी महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइदै गर्दा अभियानको केन्द्र काठमाडौं मात्र हुने गरेको छ । यस्ता अभियानले काठमाडौंलाई मात्र केन्द्र बनाउदा देशभर पीडामा रहेका महिला र पुरुष अभियानबाट टाढा छन् । सम्बन्धित निकायले यस्ता अभियान सञ्चालन गर्दा ग्रामिण तहदेखि राजधानीसम्मलाई अघि बढाउनु पर्ने आवश्यकता देखिन्छ ।
यस्ता अभियान काठमाडौँ केन्द्रित भइरहँदा अभियानको महत्व कमजोर बन्दै छ । यस्ता अभियान जहाँ शिक्षाको कमि छ त्यहाँ सञ्चालन हुनु आवश्यक छ । अनिमात्र यस्ता अभियानले सार्थकता पाउनेछ ।

प्रतिक्रियाहरु