महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन

२०७४ मंसिर २४ गते, आईतवार

काठमाडौं, २४ मंसिर । राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न सहयोग पुर्‍याउने उद्देश्यले ११४५ नम्बरको निःशुल्क हेल्पलाइन प्रारम्भ गरेको छ । यो हेल्पलाइन २४सै घन्टा सन्चालनमा रहने छ । १६ दिने महिला हिंसाविरुद्धको अभियान समापनका अवसरमा आइतबार सो हेल्पलाइन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले शुभारम्भ गरेका हुन् ।
उनले महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि सरकार सधैँ प्रतिबद्ध रहेको चर्चा गर्दै निःशुल्क हेल्पलाइन ११४५ ले पनि यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महिला हिंसा अन्त्यका लागि १६ दिने औपचारिक कार्यक्रममा मात्र केन्द्रित नभई नगरपालिका, गाउँपालिका र वडा–वडामा यस्ता कार्यक्रम सनचालन गरी चेतना जगाउनुपर्नेमा मन्त्री थापाले जोड दिए ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले महिला हिंसा अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने र त्यसका लागि महिला सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याइन् । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले महिला हिंसा अन्त्यका लागि महिलाको सम्पत्तिमाथिको अधिकार, शिक्षाजस्ता विषयमा प्राथमिकता दिनुपर्ने बताइन् ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले ऐन निर्माण गरेर महिला हिंसा अन्त्य गर्ने प्रयास भइरहेको जानकारी दिइन् । महिला अधिकारकर्मी चाँदनी जोशीले आफूले ५० वर्षदेखि महिला हिंसाविरुद्ध आवाज उठाउँदै र महिला सशक्तीकरणमा निरन्तर लागिरहने बताइन् ।
विगत १२ महिनाको अवधिमा लैंगिक हिंसा भोगेकामध्ये ९६ प्रतिशत पीडित महिलाले विवाह, दशैं, मेला र पर्वका बेलामा हुने बताएको आयोगको तथ्यांकमा उल्लेख छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु