महिला अभियन्ताको निर्मम हत्या

२०७४ माघ ५ गते, शुक्रबार

काठमाडौं, ५ माघ । पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ता मारिएका छन् । दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेका हुन् । बच्चालाई पोलियो खुवाउँदै गरेका समयमा दुबै जनालाई गोली हानिएको थियो । कुन आपराधिक समूहले हत्या गरेको भन्ने खुलेको छैन ।
यसअघि पनि पाकिस्तानमा पोलियो खोप खुवाउनेविरुद्ध आतंकवादी समुहले हत्या गर्दै आएका थिए । पोलियो खुवाएर मुसलमानलाई नपुंसक बनाउने षडयन्त्र पश्चिमाहरुले गरेको भन्दै उनीहरु यस अभियानविरुद्ध लागेका छन् । आतंकवादीकै कारण पोलियो अभियान सफल नभएका तीन देश मध्ये पाकिस्तान पनि एक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अरु दुई देशमा नाइजेरिया र अफगानिस्तान रहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु