महिलाहरूलाई हिल जुत्ताबाट मुक्त गर – बलराम तिमल्सिना

२०७५ जेष्ठ १६ गते, बुधबार

यात्रामा छन महिला र पुरुष
महिला छिन हिल जुत्तामा
पूरुष ठम ठम हिडिरहेछ
महिला छिन टकर टकर गर्दै !

पुरुष पर पुगिसक्यो
रिसाउँदै छिन महिला
भन्छिन-
एक्लै कहाँ पुग्न हिडेको महासय ?

पुरुष फेरि पर्खन्छ
महिला फेरि छुट्छिन
हिल जुत्ता लगाएर हिड्न
देख्न जति सजिलो छैन !

हिल जुत्ता लगाएकी महिलाले
कहिलै भेट्दिनन् पुरुषलाई
उछिन्ने त सपनाको कुरा हो !

पुरुषलाई थाहा छ
यो जुत्ताको डिजाइनर पुरुष हो
कहिलै नउछिनुन भनेर महिलाले
सोची विचारी बनाइएको छ यो जुत्ता !

जहिलेसम्म महिलाले बुझ्दिनन् –
विहान घरबाट निस्कन
लाली पाउडर र कोरीबाटीले ढिलो पार्छ
निस्कि सकेपछि बाटोमा
हिल जुत्ताले अल्झाउँछ लडाउँछ !

बित्ताभर उठेको हिल
कुप्रो परेको ढाड
झुकेको टाउको
आँखा छोप्न आइपुगेको कपाल
घरी कपाल पछाडि लग्यो
फेरि अगाडि ल्यायो
आफ्नै कपाल हेर्यो
आफैं मस्कियो
कम अस्त र व्ययस्त छैन यो वेरोजगारी !

पुरुषले डिजाइन गरेको नियममा बसेर
पुरुषलाई जित्ने सपना
केवल सपना मात्र हो !
किन कि यी सव कुराहरू
सोचिविचारी बनाइएका छन।

इमान्दार पुरुष समेत चिन्तित छ
केटी साथीको हिल जुत्ता देखेर
छोडेर जाऊँ माया लाग्छ
सँगै जाऊँ ढिलो हुन्छ
ढिलै भए पनि जाऊँ काम विग्रन्छ
कलेज छुट्छ
गाडी छुट्छ
जागिर छुट्छ
यस्तै यस्तै !

पर्खदै छोड्दै
छोड्दै पर्खदै
कहिलै सँगै हिड्न नपाएको
महिलाको असल प्रेमी भन्छ-
महिलाहरुलाई हिल जुत्ताबाट मुक्त गर
महिला पुरुष काँध जोडेर हिड्न मिल्ने
हिल नभएका जुत्ताको निर्माण गर !

प्रिय महिला साथीहरू !
ओर्ल हिलवाला जुत्ताबाट
हामी सँगसँगै गरौं जिन्दगीको सफर !

प्रतिक्रियाहरु