महारानी महोत्सव सुरु

२०७१ मंसिर १२ गते, शुक्रबार


काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको महारानी थानको प्रचारप्रसार र पूर्वाधार विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महारानी महोत्सव सुरु भएको छ ।मंसिर २० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटनका क्रममा सभासद् नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाले जिल्लाका धार्मिक, पर्यटकीय, ऐतिहासिकस्थलको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटन विकासमा टेवा मिल्ने विचार व्यक्त गरे । साङ्गीतिक धार्मिक प्रवचन एवम् महारानी थानको प्रचारप्रसारमा सघाउ पु¥याउने गतिविधि हुने महोत्सवमार्फत रु एक करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
पण्डित नीलकण्ठ शर्मा (आचार्य)को प्रवचन रहने उक्त धार्मिक महोत्सव सञ्चालनका क्रममा रु २० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सव तथा महायज्ञमार्फत सङ्कलन हुने रकमबाट महारानी थानमा पुजारी आवास, कार्यालय भवन, भोजनस्थल निर्माण र पूजा व्यवस्थापनका लागि कोष स्थापना गर्न खर्च गर्ने लक्ष्य राखिएको मूल आयोजक समितिका महासचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।
बाइसे चौबिसे राज्यको पालामा मल्ल राजाकी श्रीमती अलप भएकाले सो ठाउँको महारानी नामकरण हुन गई पूजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । सदरमुकाम बेनीदेखि नजिकै एकान्त वातावरणमा अवस्थित महारानीको प्रचारप्रसार तथा पूर्वाधार विकास गर्न सकेमा थप धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको महारानी क्षेत्र विकास कोषका पदाधिकारीले बताएका छन् ।

प्रतिक्रियाहरु