महाभूकम्पबाट करोडभन्दा बढी प्रभावित

२०७२ बैशाख १६ गते, बुधबार

काठमाडौं । गतशनिबार नेपालमा आएको महाभूकम्पमा परेर १ करोडभन्दा बढी नागरिक प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघले आन्तरिक र नेपाल सरकारसँगको सहकार्यमा गरेको प्रारम्भिक अध्ययनले करोडभन्दा बढी जनसंख्या महाभूकम्पबाट प्रभावित भएको देखाएको हो ।
राष्ट्रसंघले मंगलबार गरेको पत्रकार सम्मेलनमा महाभूकम्पबाट पीडितका लागि राहत स्वरुप तत्काल करिब डेढ अर्ब रुपैयाँ (१ करोड ५० लाख डलर) सहयोगको घोषणा गरेको छ । उसले राहत कोषबाट यो रकम दिन लागेको हो । राष्ट्रसंघका अनुसार ३९ जिल्लामा ८० लाख र ११ जिल्लामा २० लाख जनता बढी प्रभावित भएका छन् ।
नेपालका लागि राष्ट्रसंघीय आवासीय संयोजक जेमिनिक गोल्डरिकले महाभूकम्पले गरेको भयानक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेका हुन् । उनले १४ लाख नेपाललाई खाद्यान्न अभाव भएको बताउँदै भूकम्पबाट प्रभावित क्षेत्रमा राष्ट्रसंघले सरकारको सहयोगमा समन्वय गर्ने जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रसंघले मानविय र भौतिक क्षतिका अतिरिक्त घाइतेको विवरण संकलन गरिरहेको छ ।
उनले भूकम्पमा परेकालाई उद्धार र घाइतको उपचार गर्नु र घरवारविहीनलाई तत्काल राहत पहिलो प्राथमिकता भएको जानकारी दिँदै उनले सोही अनुसार राष्ट्रसंघले आफ्नो तर्फबाट सहयोग सुरु गरेको बताए । महाभूकम्पमा परेकालाई सहयोग गर्न राष्ट्रसंघले विभिन्न दातृनिकायलाई सहयोगका लागि अपिलसमेत गरेको छ ।
भूकम्पबाट क्षति भएकाले विभिन्न मुलुकले राहतका घोषणा गरेका छन् । जापान, एसियाली विकास बैंक, युरोपेली संघ, क्यानाडा, भुटान, अमेरिका, भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड, नर्वे, चीनलगायत विभिन्न मुलुकले आर्थिक, जिन्सी र उद्धारका लागि सहयोग गरेका छन् ।

प्रतिक्रियाहरु