महादेव र वर्मको भैलो !

२०७३ मंसिर १५ गते, बुधबार

काठमाडौं, १५ मंसिर । जाजरकोट सक्ला–१, लैखममा मात्र हुने अनौठो संस्कार महादेवको भैलो हिजोआज मनाइँदैछ ।गाउँभरीका मानिस जम्मा भएर गाउँमा भैलो खेलेर यो महादेवको भैलो मनाईन्छ । खत्रीहरु मात्र बसोबास गर्ने लैखम गाउँमा कात्तिक १६ गतेदेखि सुरु भएको भैलो मङ्सिर २५ गते सम्पन्न हुने भैलो आयोजक समितिका संयोजक तथा स्वारे (नाइके तथा भैलोका पुजारी) शेरबहादुर खत्रीले बताए । यो भैलीमा वृद्धदेखि बालकसम्मले महादेवको भैलो खेल्न पाउँछन् । भैलोमा तिहारमा उच्चारण गरेको जस्तो गीत प्रयोग गर्न पाइँदैन, महादेव, वर्म देवताको विशेष पुजा गरेर उहाँकै गुणगान गाएर भैलो खेलिन्छ ।
प्रत्येक ३ वर्षमा भैलो उठाउँने र मार्ने अर्थात सुरुवात गर्ने र अन्तिम गर्ने गरिन्छ । महादेव, वर्मले प्रत्येक ३ वर्षमा भैलो नखेलेमा अनिष्ट हुने मान्यताका कारण यो भैलो खेल्ने गरिएको महादेवका स्वारे शेरबहादुर खत्रीले जानकारी दिए । यो गाउँमा तिहारमा देउसी, भैलो खेल्न महादेव र वर्मले नदिने भएका कारण लैखम गाउँमा महादेव, वर्मको भैलो खेल्ने कार्य मात्र हुने स्थानीय प्रेमबहादुर केसीले बताए । यस गाउँमा दलित जातिका मानिस बस्न नपाउँने र यदि अटेर गरेर बसेमा अनिष्ट हुने जनविश्वास भएकोले बसेको पाइँदैन । भैलो मनाउन प्रत्येक घरवाट १ पाथी चामल र रु ५ सय रकम उठाउने गरिन्छ । उठाएको रकम बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कार गर्ने कार्यमा खर्च गरिन्छ । एकजना बेहुला र एकजना बेहुली वनाएर भैलोमा प्रयोग गरिएको आगोको राँको (ज्वाला)लाई हिर्काएर भैलोको औपचारिक बिदाई गरिन्छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार