महाकवि देवकोटाको जन्मजयन्ती मनाइदैं

२०७१ कार्तिक ६ गते, बिहीबार


काठमाडौं, ६ कार्तिक । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्मजयन्ती विदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको विक्रम संवत १९६६ कात्तिक २७ गते आमावश्य तिथि लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराका रुपमा काठमाडौंको डिल्लीबजारमा जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ ।
भारतका महापण्डित राहुल साङकृत्यायनले देवकोटाको प्रतिभाको उच्च मूल्याङकन गर्दै भारतका महाकवि सुमित्रानन्द पन्त, जयशङकरप्रसाद र सूर्यकान्त निरालाको समष्टिरुपसँग तुलना गरेका थिए ।
नेपाली नाट्य जगतका सम्राट बालकृष्ण समले देवकोटाको मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै तीनपटक जन्म भएको अभिव्यक्ति दिएका थिए । नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।
विसं २०१६ मा शिक्षा मन्त्री हुँदा नेपाली भाषालाई नेपालभर अनिवार्य विषयका रुपमा लागू गराउनु, त्रिभुवन विश्वविद्यालयलाई कीर्तिपुरमा जग्गाको व्यवस्थापन गर्नु र २०१४ साल असार ९ गते हालको नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उहाँका अविस्मरणीय योगदान मानिन्छ ।
तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने अलौकिक क्षमता देवकोटा थियो । उनको खण्डकाव्य मुनामदन त नेपालमा धेरै बिक्री हुने साहित्यिक कृतिमा पर्दछ । पाठकले विशेष मन पराएको यस खण्डकाव्य स्वयं देवकोटाको पनि प्रिय थियो ।
कुनै प्रसङगमा उनले मुनामदनबाहेक मेरा सबै कृति नष्ट गरेपनि हुन्छ भन्ने अभिव्यक्ति दिएको चर्चा साहित्य जगतमा हुने गरेको छ । महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, प्रमिथस, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रह्लादलगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्डकाव्य छन् ।
उनका ६ सय ४४ फुटकर कविता भेटिएका छन् । यस्तै दुई वटा निबन्ध संग्रह, एउटा उपन्यास रचना गरेका छन् । महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको हो ।

प्रतिक्रियाहरु