मर्निङ वाक ननिस्कनु नै बेश

२०७१ आश्विन १५ गते, बुधबार


काठमाडौं । काठमाडौ उपत्यकाको हावामा फोक्सोसम्म सिधै पुग्नसक्ने धुलोका कण विहान ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टाको अवधिमा अत्याधिक पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बिहानको समयको हावा स्वास्थ्यका लागि निकै हानिकारक रहेको तथ्यसहितको एक प्रतिवेदन सार्वजनिक गरेको छ ।
परिषदले पहिलो पटक गरेको काठमाडौं उपत्यकाको हावाको प्रदुषण सम्बन्धी अध्ययनले बिहानको समयमा उपत्यकाको हावामा राष्ट्रिय मापदण्डभन्दा दुई गुणा बढी धुलोका कण रहेको पत्ता लगाएको हो । हावामा पाइने २ दशमलव ५ माइक्रोमिटर भन्दा कम आकारका धुलोका कण श्वास लिंदा सोझै फोक्सोमा पुग्छन् । यस्ता कणले श्वासप्रश्वास, मुटु, आँखा र छालासम्बन्धी रोगको जोखिम बढ्छ ।परिषदले गरेको अध्ययनले २ दशमलव ५ माइक्रोमिटर भन्दा कम आकारका धुलोका कण काठमाडांै उपत्यकाको हावामा बिहान ५ बजेबाट लगातार रुपमा बढी ९ बजेसम्म अत्यधिक रहने गरेको देखाएको छ ।परिषदका सदस्यसचिव डा. खेमबहादुर कार्कीले २ दशमलव ५ माइक्रोमिटर सम्मका धुलोको कण प्रति घनमिटर ४० माइक्रोग्रामसम्मलाई सामान्य मानिएपनि उपत्यकाको बिहानको हावामा ८० दशमलव ५ माइक्रोग्रामसम्म पाइएको बताए ।परिषदले उच्चप्रविधि जडित इ–स्याम्पलर नामक यन्त्रमार्फत गएको फागुनदेखि साउन महिनासम्म काठमाडौंको पुतलीसडक, भक्तपुरको जगाती र ललितपुरको महालक्ष्मीस्थानमा धुलोका कणको मात्रा परीक्षण गरेको हो ।परिषदका सदस्यसचिव कार्कीले बिहानको समयमा धुलोको कण अत्यधिक देखिएकाले बिहानको समयमा हिँडडुल र शारीरिक अभ्यास गर्नु निकै जोखिमपूर्ण रहेको बताए । उनले हावामा देखिएको धुलोका कण घटाउनका लागि २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइनुपर्ने बताए ।समस्या बिहानको हावामा मात्र होइन । परिषदले साँझको समयमा पनि हिँडडुल नगर्न आग्रह गरेको छ । साँझ ६ बजेदेखि राती ९ बजेसम्मको समयमा पनि राष्ट्रिय मापदण्डभन्दा डेढ गुणा बढी धुलोका कण भेटिएको भन्दै परिषदले शारीरिक अभ्यास गर्ने समय र तरिकामा परिवर्तन गर्न सुझाव दिएको छ । परिषदले इ–स्याम्पलर नामक यन्त्रमार्फत एक वर्षसम्म अध्ययन गरेर मात्र हावामा धुलोको अवस्थाबारेको विस्तृत प्रतिवेदन सार्वजनिक गरिने बताएको छ ।

प्रतिक्रियाहरु