मन्दिर जीर्णोद्धार गर्दा असर्फी भेटियो

२०७३ आश्विन ९ गते, आईतवार

काठमाडौं, ९ असोज । बुग्मतीस्थित रातो मच्छिन्दनाथको मन्दिर जीर्णोद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ । सुनको पद्यमाणि लोकेश्वरको मूर्ती पनि सोही स्थानमा पाइएको छ । मन्दिरका चार कुनामा सुनका पाता भेटिएको छ । माटोको घैँटोमा तामाका टुक्रा छन् ।
पुरातत्व विभागले यसको लगत लिएको छ । मन्दिर जीर्णोद्धारका क्रममा सबै देवस्थलमा यस प्रकारका नवरत्न भेटिने सम्भावना त्यत्तिकै छ, भने जीर्णोद्धारमा यस्ता सामग्री हराउन मासिन नपाऊन् भनि त्यत्तिकै सजगता रहन आवश्यक देखिएको छ ।
श्री ३ जङ्ग संस्थाका अध्यक्ष ७८ वर्षीय यमजीतप्रताप जङ्गबहादुर राणा भन्नुहुन्छ– देवस्थल स्थापना गर्दा जगमा नवरत्न, असर्फी, सिक्का राखेरै गरिने प्रचलन रहेकाले देवस्थलको जीर्णेद्धार गर्दा अमूल्य रत्न हराउन नपाओस् भनेर सजगता राख्नैपर्छ ।
‘रानी पोखरीमा जङ्ग खलकलाई तितरवितर पार्दा राणजीहरूले गहनाका सन्दुक खसाली गएको भन्ने सुनिँदै आएको हो, बबरशम्सेरका छोरा ब्रम्हशम्सेर टुँडिखेलमा घोडा दौडाउँदै पोखरीमा घोडासहित फाल हालेका थिए, उनको नियत सन्दुक फेला पार्नु नै रहेको भन्ने राणा खानदानमा अहिले पनि चर्चा हुने गरेको छ’, उहाँले भन्नुभयो ‘ब्रम्हशम्सेर फाल हालेपछि मात्र रानी पोखरीमा छेकवार लगाइएको हो । ’
राजा प्रताप मल्लले स्थापना गरेको रानी पोखरीको बालगोपालेश्वर मन्दिर जीर्णेद्धारका क्रममा पनि यसतर्फ ध्यान पुग्न आवश्यक रहेको राणा बताउनुहुन्छ । सजगता नअपनाउँदा जयवागेश्वरीको एक शिवालयको गर्भबाट असर्फी मणिमाणिक्य लगायतका धनमाल हारालुछ भएको पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य बताउनुहुन्छ । वैद्य भन्नुहुन्छ, ‘शिवलिङ्ग स्थापना गर्दा सिलाको नवकुण्डमा अमूल्य सामग्री राख्ने प्रचलन रहेछ काठमाडौँको काष्ठमण्डपको गर्भमा पनि सुनका केही सिक्का तथा सुनका पाता पाइएका थिए । ’
विगतमा वसन्तपुर गद्दी बैठक आसपास पृथ्वीनारायण शाहको गद्दी राखिएको स्थान मुन्तिर बाकसमा प्रशस्त सुनका गरगहना पाइएको संस्मरण गर्छन् गुठी संस्थानका अधिकारीहरू । संस्थानले जनाए अनुसार यी धनमाल नेपाल सरकारको जिम्मामा छ ।
कतिपय देवस्थलमा लापरवाही भएको छ । त्रिपुरेश्वरस्थित जङ्गहिरण्य हेमनारायण मन्दिर भत्कँदा सारिएको नारायणको मूर्ति मुन्तिर यस्ता सामान थिए थिएनन् भन्ने जन कौतुहलता अझै मेटिएको छैन ।
‘गुठी संस्थान अन्तर्गत राजगुठीका एक हजार सात सय यस्ता देवस्थल पुनः निर्माण हुनुपर्ने अवस्थाका छन्, रातो मच्छिन्द्रनाथ पनि यसैमा परेको छ, सजगता आवश्यक छ’, यमजीतप्रताप जङ्गबहादुर राणा भन्छन । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पुनःनिर्माणमा पूर्ण सजगता अपनाइएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार