मन्दिरमाथि सरकारी अतिक्रमण

२०७५ जेष्ठ २८ गते, सोमबार

काठमाडौं , २८ जेठ । सडक विस्तारका नाममा ललितपुरको बटुक भैरव मन्दिरको कम्पाउन्डमा डोजर चलेपछि लगनखेलका स्थानीयले विरोध सुरु गरेका छन् । मन्दिरमाथि नै सरकारी अतिक्रमण हुन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मन्दिर अघिको सेनाको पेट्रोल पम्बपलाई बचाएर मन्दिर मास्ने खेलमा उपत्यका विकास प्राधिकरण लागेको स्थानीयको आरोप छ । यो सडक २२ मिटर फराकिलो बनाउने गरी प्राधिकरणले डोजर चलाएको थियो । सुरक्षाकर्मीको सहयोगमा डोजर लिएर गएपछि स्थानीयबासिन्दा प्रतिकारमा उत्रिएका थिए । तर, बल प्रयोग गरेर मन्दिर छेउको गुठी जग्गाको कम्पाउन्ड भत्काइएको थियो । यो मन्दिर लक्ष्वीकालीन भएको अनुमान छ । विशेषगरी नेवार समुदायको आस्थाको धरोहर भएका कारण यसको अस्तित्वमा असर पर्ने गरी सडक विस्तार गर्न नहुने माग स्थानीयले गरेका छन् ।
यसकाबारेमा उनीहरुले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पनि ध्यानाकर्षण गरएका छन् । मेयर महर्जनले पुरातात्विक धरोहरको संरक्षण गर्न महानगरले कदम चाल्ने बताएका छन् ।

प्रतिक्रियाहरु