मन्त्रिमण्डल विस्तार मात्र राष्ट्रिय सरकार होइन- दाहाल

२०७२ जेष्ठ १५ गते, शुक्रबार

काठमाडौँ, १५ जेठ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्राकृतिक प्रकोपमा परेका जनतालाई प्रभावकारी राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि दलहरुबीच बलियो एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
सोलुखुम्बुमा निर्माण गर्न लागिएको किरात गणतन्त्र टावरका बारेमा जानकारी दिन किरात गणतन्त्र टावर फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय एकताको सरकार भनेको वर्तमान सरकारको विस्तार नभएको बताउनुभयो ।
उहाँले विपत्तिमा परेका जनतालाई तत्काल राहत दिन र पुनःनिर्माण कार्यमा सरकार चुकेको भन्दै उहाँले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
विपत्तिमा परेका जनतालाई सहयोग प्रदान गर्न सत्तापक्ष र प्रतिपक्ष नभनी लागे पनि सरकारी संयन्त्र र मातहतका निकायको कार्यशैली परम्परागत रहेको उहाँको भनाइ थियो ।
उहाँले पुनःनिर्माण र संविधान निर्माण गर्ने सर्तमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने त्यसका लागि दृढ इच्छा शक्ति र दूरुदृष्टि भएको नेतृत्वको आवश्यक रहेकामा जोड दिनुभयो ।
नयाँ सोच र दृष्टिकोणसहितको राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि मन्त्रिमण्डल विस्तारको कुनै अर्थ नरहेको उहाँको भनाइ थियो । ‘‘मन्त्रिमण्डल हेरफेर गर्ने गरी विस्तार गरेर देशको समस्या समाधान हुँदैन’’, अध्यक्ष दाहालले भन्नुभयो ‘‘त्यसको लागि हाल देखिएको विपद्को सामना गर्ने दीर्घकालीन योजना, कार्यक्रम र इच्छा शक्तिसहित राष्ट्रिय एकता अहिलेको आवश्यकता हो ।’’
अहिलेको अवस्थामा विदेशीको मुख ताकेर र मागेर मात्र नहुने भन्दै अध्यक्ष दाहालले आफ्नै खुट्टामा उभिनुपर्ने र आफँै पौरख गर्ने गरी एकताबद्ध भएर लागे भूकम्पपछि उत्पन्न चुनौतीको सामना गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा सो टावर निर्माण समितिका अध्यक्ष एवम् एमाओवादीका नेता गोपाल किरातीले रु तीन अर्बमा निर्माण गरिने सो टावरले पूर्वाञ्चलको पर्यटन प्रवद्र्धनमा थप सहयोग गर्ने बताउनुभयो ।
सो टावरको आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गरिने कार्यक्रममा जानकारी दिइएको थियो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु