मनिस र पोख्रेललाई तत्काल रिहाई नगरे प्रतिरोध गर्ने चेतावनी

२०७६ भाद्र ३१ गते, मंगलवार

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी ब्युरोले पार्टीका ब्युरो सदस्य एंव झापा जिल्ला सेक्रेटरी प्रबिण मिश्र ‘मनिस’ र जिल्ला सदस्य एंव मजदुर संगठनका ब्युरो संयोजक टीका पोख्रेललाई तत्काल रिहाई नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ । पार्टी कामको शिलसिलामा भद्रपुरबाट बिर्तामोड आउने क्रममा सोमबार बिहान सरकारले अपहरण गरेर बेपत्ता बनाएकोमा सो पार्टीले निन्दा एंव भत्सर्ना गरेको छ । मेची–कोशी ब्युरो इन्चार्ज अनुले सोमबार विज्ञप्ति निकाली गिरफ्तार गरी वेपत्ता पारिएका मनिस र पोख्रेललाई तत्काल रिहाई नगरे पार्टी मुखतोड प्रतिरोध गर्ने चेतावनी दिएकी छिन् ।
व्युरो इन्चार्ज अनुले विज्ञप्तिमा भनेकी छिन्, ‘हाम्रो पार्टीका मेची–कोशी ब्युरो सदस्य एंव झापा जिल्लाका सेक्रेटरी प्रबिण मिश्र ‘मनिस’ र पार्टीका झापा जिल्ला सदस्य एंव मजदुर संगठनका ब्युरो संयोजक क. टीका पोख्रेललाई पार्टी कामको शिलसिलामा भद्रपुरबाट बिर्तामोड आउने क्रममा आज मिति २०७६ भदौं ३० गते बिहान अन्दाजी ९–१० बजेको बिचमा केपी र पिके नेतृत्वको आतंककारी सरकारका जल्लादहरुले अपहरण गरेर बेपत्ता बनाएको घटनाको हामी निन्दा एंव भत्सर्ना गर्दै आक्रोश ब्यक्त गर्दछौं ।’
इन्चार्ज अनुले विज्ञप्तिमा अगाडि भनेकी छिन्, ‘भ्रस्ट, दलाल र माफियाहरुको संरक्षण गरेर जनताको पक्षमा लड्ने, जनताको आवाज उठाउने क्रान्तिकारी पार्टी र योद्धाहरुप्रति निरन्तर आक्रमक भएर उत्रिरहेको सरकार जनताको बिचमा आफ्ना घिनौला व्यवहारको कारण नांङ्गो छ । हाम्रो पार्टीले अगाडि सारेको बैज्ञानिक समाजवाद अझ लोकप्रिय र अनिवार्य बिकल्प बन्दै गैरहेको छ । यस्तो बेला जनताको पार्टीमाथि सामाजिक फासिवादी सरकारी दलालहरुको समूहले दमन गर्ने र जनताले त्यसको मुखतोड प्रतिरोध गर्ने कुरा स्वभाविक र अनिवार्य छ । यदि दलालहरुको यो रबैया रहिरहने हो भने जनताको प्रतिरोधले निम्त्याउन सक्ने भयानक परिणामप्रति हामी सचेत गराउन चाहान्छौं ।’
मेची–कोशी ब्युरो इन्चार्ज अनुले विज्ञप्तिको अन्त्यमा भनेकी छिन्, ‘हाम्रो पार्टीका गिरफ्तार कमरेडहरु प्रबिण मिश्र ‘मनिस’ र टीका पोख्रेललाई बिनासर्त तुरुन्त रिहा गरियोस । साथै झापाका हिरासत र कारागारमा झुट्टा अभियोग लगाएर बन्दी बनाइएका सबै बन्दी कमरेडहरुलाई रिहा गरियोस् अन्यथा हाम्रो पार्टी मुखतोड प्रतिरोध गर्न बाध्य हुनेछ । अन्त्यमा, बर्ग संघर्षको प्रक्रियामा श्रमशिल जनताको बिरोधी वर्ग शोषक र दलाल वर्गले संघर्षशील योद्धाहरुमाथि पाशविक दमन गर्ने कुरा अनिवार्य हो र हामीले जेलको पर्खालभित्र होस या बाहिर त्यसको डटेर सामना गर्ने कुरा पनि उत्तिकै अनिवार्य छ । सम्पुर्ण कमरेडहरु, पार्टी शुभचिन्तकहरुलाई जनदमनबाट भयवित नभइकन आफ्नो काममा खरो साबित हुनसमेत आह्वन गर्दछौं । दलालहरुको पराजय र जनताको जित शुनिश्चित छ ।’

प्रतिक्रियाहरु