मनास्लु पदमार्गका होटल बन्द

२०७२ असार १२ गते, शनिबार

काठमाडौ, १२ असार । आन्तरिक तथा विदेशी पर्यटकको आवागमन ठप्प भएपछि गोरखाको मनास्लु पदमार्गको दायाँबायाँ खुलेका होटल बन्द भएका छन् ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि मनास्लु पदमार्गमा पर्यटक छैनन् । भूकम्प गएको दुई महिना बितिसक्दा पनि अबरुद्ध मनास्लुको पूरा बाटो अझै खुलाउन सकिएको छैन ।
थुमी गाविसको सोती बजारदेखि सिर्दिवास गाविसको फिलिम बजारसम्म पहाडका ढिस्काहरू झरेर अवरुद्ध गोरेटो बाटो खुलाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा बाटो खुलाएको हो । डेढ महिना लगाएर सयौँ पहिरो पन्छाएपछि गोरेटो बाटो बनाउन सकिएको सिर्दिवास–१ सल्लेरीका राजकुमार गुरुङले जानकारी दिनुभयो ।
सोती बजारदेखि सिर्दिवाससम्मको मनास्लु पदमार्गको वैकल्पिक मार्गको रुपमा केरौजा हुँदै गोरेटो बाटो खोलिएको हो । यो बाटोमा होटलहरू छैनन् । “लापु गाविसको लापुवेसी, माछाखोलाको तातोपानी क्षेत्रमा झरेको ठूलो पहिरो हटाउन नसकेपछि वैकल्पिक मार्ग खोलेका हौँ” गुरुङले भन्नुभयो, “मनास्लु पदमार्ग अवरुद्ध छ । तर, सिर्दिवाससम्म नयाँ बाटो खोलेका छौँ ।” लापुवेसी, माछाखोला, तातोपानीदेखि सिर्दिवासको जगतसम्म करिब ८० वटा होटल सञ्चालनमा थिए ।
“पदमार्गको दायाँबायाँ खुलेका अधिकांश होटल भत्केका छन्” गुरुङले भन्नुभयो, “होटल व्यवसायी त्रिपालमुनि बसेका छन् ।” खच्चड हिड्ने, मानिस आवतजावत गर्ने बाटा पहिरोले अवरुद्ध भएपछि नभत्किएका होटलमा पनि खाद्यान्नलगायत सामग्री छैन ।
सिर्दिवासका होटल व्यवसायी कुमारी गुरुङले भन्नुभयो, “पदमार्गको वैकल्पिक बाटो खुलेपनि जोखिम मलेर हिड्नुपर्छ ।” पहिरो पन्छाएर खुलाइएको बाटोमा साथीलाई राखेर बाटो पार गर्नुपर्ने अवस्था रहेको कुमारीको भनाइ छ ।
पछिल्लो समय पर्यटकको चाप बढ्दै गएपछि मनास्लु पदमार्ग छेउ करोडौँ लगानीमा ठूला होटल सञ्चालनमा आएका थिए । आरुघाटबजारदेखि थुमीको आर्खेतबजार, सोतिबजार, लापुवेसी, माछाखोला, तातोपानी, जगत, फिलिम क्षेत्रमा सानाठूला होटल सञ्चालनमा थियो । यी होटलहरूमा पर्यटकहरू भरिभराउ हुन्थे । अन्नपूर्ण पदमार्गमा सडक सञ्जाल पुगेपछि पदयात्रीहरूको रोजाइमा मनास्लु पदमार्ग परेको थियो । मनास्लु पदमार्गमा कतैपनि सडक पहुँच छैन ।
बिही, प्रोक, ल्हो, छेकम्पार, सामागाउँ क्षेत्रमा सञ्चालनमा रहेका होटलहरू पूर्णरुपमा बन्द छन् । सामागाउँ गाविसमा हालै सञ्चालनमा आएको रु चार करोड लगानीमा बनेको ठूला होटलहरूमा पनि पाहुना छैनन् । होटलको सञ्चालक लक्ष्मी लामाले भन्नुभयो, “स्थानीयको घर भत्केको छ । जस्तापाता र खाद्यान्नको पर्खाइमा छन् । यस्तो बेला होटल चल्ने कुरै भएन । विदेशी पर्यटक कोही छैनन् ।
नेपाली सेना र सशस्त्रको टोलीलाई सामागाउँसम्मको बाटो खुलाउन त्यसतर्फ खटाएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो ।
सेना, सशस्त्रको टोलीले नै यसअघि फिलिमसम्मको वैकल्पिक मार्ग खुलाएको थियो । ३१ जना सशस्त्र र ४० जनाभन्दा बढी सेनाको टोली अवरुद्ध सिर्दिवास क्षेत्रमाथिका पदमार्ग खुलाउन परिचालन गरिएको छ ।
बर्सेनि पर्यटक आवागमन बढेपछि आर्थिक क्षेत्र बलियो हुँदै गएको सम्भावना देखेर सञ्चालनमा रहेका होटलहरू अहिले बन्द हुँदा व्यवसायी र होटल मजदुर मारमा परेका छन् । पदमार्गमा रहेका १५० बढी होटलमा पाँच सयभन्दा बढी होटल मजदुर कार्यरत छन् ।- रासस

प्रतिक्रियाहरु