मनसुन पूर्णसक्रिय हुन ‘अझै केही दिन लाग्ने’

२०७५ जेष्ठ २९ गते, मंगलवार

काठमाडौं, जेठ २९ । नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन । जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् वरुण पौडेल बताउँछन् ।
‘मनसुन पूर्वबाट पश्चिमतर्फ जान केही दिन लाग्ने देखिन्छ । पूर्व र मध्यभेगमा राति वर्षा हुने तथा दिउँसो बदली हुनेक्रम जारी छ । आज पनि काठमाडौं उपत्यका आसपास र पूर्वी क्षेत्रमा साँझपख वर्षा हुने अनुमान गरिएको छ’–उनी भन्छन् । पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहे पनि औसत वर्षा बढीमा ४५ मिलिमिटरमात्र भएको छ ।
हल्कादेखि मध्यमखालको वर्षा भएको हुँदा केही दिन बाढीलगायत प्रकोपको सम्भावना नरहेको मौसमविद् पौडेलको भनाइ छ । उनकाअनुसार पश्चिमी भेगमा मनसुन सक्रिय हुन अझै केही समय लाग्ने भएकाले ती क्षेत्रमा केही दिन बढी गर्मी हुनेछ ।
महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंमा १५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धनकुटामा ४१, सिमरामा २७, विराटनगरमा १५ र ओखलढुंगामा पाँच मिलिमिटर वर्षा भएको छ ।
काठमाडौं उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्न घाम चर्कने र दिउँसो बदली हुनेक्रम जारी छ । क्षणिक बदली हुने र घाम लाग्नेक्रमले गर्दा उपत्यकामा बढी गर्मी महसुस गरिएको हो । तीन दिनयता काठमाडौंको अधिकतम् तापक्रम ३१ देखि ३१.५ सेल्सियससम्म पुगेकामा मंगलबार ३० डिग्री सेल्सियसमा झरेको छ । यसअघि, यही जेठ १२ र १३ गते यो वर्षकै बढी तापक्रम क्रमशः ३१ र ३१.५ सेल्सियस पुगेको थियो । अघिल्लो वर्ष सन् २०१७ जुन महिनामा काठमाडौंको बढीमा ३२ डिग्री तापक्रम पुगेको महाशाखाले जनाएको छ ।
यसैबीच, महाशाखाले जनाएअनुसार विगत केही दिनदेखि उत्तरी बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली यही जेठ २ र २८ मा जमिनमा प्रवेश गरेको छ । यो प्रणाली उत्तरपूर्वी दिशातर्फ सर्दै जाने तथा विस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ । सो न्यूनचापीय प्रणाली कमजोर भएसँगै नेपालतिर जलवाष्पयुक्त हावाको प्रवाह बढ्ने मौसमविद्हरुको अनुमान छ । सोही जलवाष्पयुक्त हावाका कारण जेठ २९ देखि नेपालका पूर्वी भागमा बदली भइ हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको हो । महाशाखाले विज्ञप्ति निकालेर यही जेठ २५ गते पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुनेक्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरेको थियो । नेपालमा समान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । सोही आधारमा यस वर्षको मनसुन दुई दिनअघि सुरु भएपनि अझै सक्रिय बन्न सकेको छैन । नेपालमा साधारणतया (जुन १० देखि सेप्टेम्बर २३) सम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । साउथ एसियन आउटलुक फोरम–१२ मा आँकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू्–भागमा सरदर वर्षा हुने अनुमान गरिएको छ । -सिवी अधिकारी (रासस)

प्रतिक्रियाहरु