मनकामनामा प्लास्टिकको झोला निषेध

२०७१ फाल्गुन १२ गते, मंगलवार

काठमाडौँ ।प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा प्लास्टिकको झोला प्रयोग गर्न निषेध गरिएको छ । भक्तजनले फूल, अक्षता ल्याउँदा प्लास्टिक बढी प्रयोग गर्दा वातावरण प्रदूषितका साथै मन्दिरवरपर फोहोर बढेको भन्दै मनकामना गाविसले प्लास्टिक निषेध अभियान थालेको जनाएको छ । गाविससचिव नारायण सापकोटाका अनुसार मन्दिर क्षेत्रलाई पूर्ण वातावरणमैत्री बनाउन र स्वच्छ, सफा तथा सुन्दर बनाउन प्लास्टिकको झोला निषेध गरिएको हो । प्लास्टिकको झोलाको सट्टामा कपडाको झोलाको प्रयोग गर्न गाविसले भक्तजन तथा मनकामना क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायीलाई आग्रह गरेको छ ।“प्लास्टिक निषेधका लागि गाविसस्तरमा निर्णय गरेर पटक–पटक नियम लागू गर्दै आएका छौँ”–सचिव सापकोटाले भन्नुभयो–“गाविस एक्लैले गरेको निर्णय कार्यान्वयन हुन सकेन ।
अब सबै सरोकारवालासँग समन्वय गरेर प्लास्टिक निषेध गरिछाड्छौँ ।” गाविसलाई पूर्ण वातावरणमैत्री बनाउने अभियानअन्तर्गत स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समितिमार्फत पठाएको रु १५ लाखले प्लास्टिक निषेधका लागि अभियान चलाउने सचिव सापकोटाको भनाइ छ ।
“मन्दिर पूर्जाअर्चनाका लागि आएका भक्तजनले प्लास्टिकको झोलामा सामान ल्याउने गर्छन्”–उहाँले भन्नुभयो–“प्लास्टिकको झोलाको सट्टामा कपडाको झोला प्रयोग गर्न ठाउँ–ठाउँमा भक्तजनले देख्नेगरी सूचना टाँस गर्छौं ।”
प्लास्टिकको निषेधित क्षेत्रभित्र प्लास्टिकको झोला प्रयोग गरेको भेटिएमा गाविसले तोकिएको जरिवाना लिने सचिव सापकोटाको भनाइ छ । “मन्दिर क्षेत्रलाई पूर्ण प्लास्टिकरहित बनाउँछौँ”–उनले भने–“त्यसपछि मनकामना गाविसलाई प्लास्टिकमुक्त गाविस घोषणाको चरणमा हामी अघि बढ्नेछौँ ।”
मनकामना क्षेत्रमा अत्यधिक मात्रामा प्लास्टिकको प्रयोग बढेपछि मन्दिरवरपर प्लास्टिकको फोहोर बढेको छ । गाविसले गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना इकाईसँग समन्वय गरेर कपडाको झोला बनाउने तयारी गरेको जनाएको छ ।
“गाविस र इकाईको संयोजनमा कपडाको झोला बनाउने हाम्रो तयारी छ”–गोउवा सङ्घ मनकामना इकाईका अध्यक्ष प्रेम श्रेष्ठले भने– “केही समयभित्रै प्लास्टिक निषेधित अभियान सुरु गर्छौं । प्लास्टिकको झोलाको सट्टामा कपडाको झोला पर्याप्त मात्रामा सर्वसुलभ रुपमा बिक्रीका लागि राखिन्छ ।”

प्रतिक्रियाहरु