मध्यभोटेकोशीको साधारण शेयर बिक्रि शुरु

२०७५ कार्तिक २८ गते, बुधबार

काठमाडौं, २८ कात्तिक । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आज देखि १ अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु छ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु छ अर्ब रहेको छ ।
कम्पनीको शेयरमा यही कात्तिक २८ गते बुधबारदेखि आगामी मङ्सिर १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै संस्थापक सङ्गठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आउँदो मङ्सिर १८ गतेदेखि २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीको शेयरमा सञ्चयकर्ताले न्यूनतम ५० र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउनेछन् भने कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार २०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलगायत रहेका छन् ।
कम्पनीमा प्राधिकरणको दश प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको समान एक÷एक प्रतिशत शेयर स्वामित्व रहेको छ । यस्तै ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कोषका सञ्चयकर्ताको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत शेयर रहने गरी छ्ट्याइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु