भ्रष्टाचार हुने मुलुकमा नेपाल १२२ औँ स्थानमा

२०७४ फाल्गुन १० गते, बिहीबार

काठमाडौं, १० फागुन । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो । गतवर्षको तुलनामा नेपाल ९ स्थानले माथि उक्लिएको हो । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने छैन । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् ।
प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले नेपालमा राजनीतिक र व्यावसायिक भ्रष्टाचार बढी हुने गरेको देखिएको बताए । उनले निगमनकारी निकाय प्रधानमन्त्रीको कार्यालय कमजोर देखिएको र पटक-पटकका सुशासनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न बेवास्था गरेका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए ।
ट्रान्सपरेन्सीको प्रतिवेदनमा सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड परेको छ । त्यसैगरी डेनमार्क दोस्रो स्थानमा छ । उनीहरुले क्रमशः ८९ र ८८ अंक पाएका छन् । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने सोमालिया परेको छ । सोमालियाले ९ अंक मात्र प्राप्त गरेको छ । दक्षिण एसियाली देशमध्ये बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं, भुटान २९ औं स्थानमा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु