भ्रमण वर्ष २०२० शुरु हुँदै

२०७६ पुष १३ गते, आईतवार

काठमाडौँ , १३ पुष । सरकारले एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु गर्न लागेको नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० शुरु हुन तीन दिन मात्रै बाँकी छ । यो समयमा भक्तपुरले पनि भ्रमण वर्षको भव्य स्वागत गर्दै विभिन्न कार्यक्रम गर्ने भएको छ । नेपाल भ्रमण वर्ष सफल पार्न जिल्लाका चारवटै नगरपालिकाले आ–आफ्नो योजना अघि सारेका छन् भने निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तय गरेका छन् । भ्रमण वर्षलाई स्वागत गर्दै सफल पार्न विभिन्न कार्यक्रको शुरुआत भइसकेको छ । ‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने नाराका साथ जनवरी १ अर्थात् आगामी बुधबार १६ गते नगरकोटबाट बिहान सूर्योदयसँगै भ्रमण वर्षको स्वागत गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा रहेको भक्तपुरमा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिले विभिन्न कार्यक्रम तय गरेको छ । भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न सन् २०१९ को अन्तिम साँझ भक्तपुर नगरपालिकाले पाँचतले मन्दिरमा दीप प्रज्वलन गर्ने भएको छ । त्यसैगरी ‘सन् २०२० को पहिलो सूर्योदयलाई नगरकोट’ भन्ने नाराका साथ नगरकोटमा स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।
सन् २०२० मा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पाहुनालाई विशेष स्वागत एवं सम्मानको गरिने भएको छ । समितिले पर्यटकीय गन्तव्यको पहिचान गर्ने र बढीभन्दा बढी पर्यटक भित्र्याउन कार्यक्रम गर्ने तय गरेको जिजस प्रमुख एवं समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो ।
यता भक्तपुर नगरपालिकाले जनवरी १ का दिन भक्तपुर नगरपालिकाको नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने जानकारी दिँदै उहाँले रात्रिकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदास्थलमा सोलार र बिजुली बत्तीको व्यवस्था गरेको, पर्यटक बसपार्क, पर्यटक सूचना केन्द्र, पर्यटकका लागि स्तरीय शौचालय निर्माण गरिसकेको बताउनुभयो । नगरपालिकाले भ्रमण वर्षको पूर्वसन्ध्यामा रात्रिकालीन सम्पदा भ्रमणसमेत गर्ने भएको छ । त्यसैगरी नगरकोट नाल्दुम पर्यटन विकास समितिले शनिबार भक्तपुरको चाँगुनारायण मन्दिरबाट नगरकोटसम्म पदयात्रा गरेको छ । भ्रमण वर्षको प्रचारप्रसार स्वरूप समितिले पदयात्रा गरेको हो भने पर्यटन वर्षलाई लक्षित गरी तीनदिने नगरकोट महोत्सवसमेत आयोजना गर्ने भएको छ ।
यता सूर्यविनायक नगरपालिकाले शिव परिपथ पदमार्ग निर्माण गर्ने भएको छ भने गुण्डु, अनन्तलिङ्गेश्वर, रानीकोट, घ्याम्पेडाँडा, सिपाडोल, नैचाल, आशापुरी हँुदै चित्तपोलको कैलाश महादेवसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै अभियान सञ्चालन गर्ने भएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
साथै रानीकोट क्षेत्रमा दृश्यावलोकन स्तम्भसमेत बनाउने भएको छ । यहाँ पदमार्ग निर्माणका साथै निजी क्षेत्रबाट जीप राइडिङ, बञ्जीजम्प, प्याराग्लाइलिङ सञ्चालन गर्ने र होटलमा छुटको व्यवस्था गर्ने भएको व्यवसायी विज्ञान राईले जानकारी दिनुभयो ।
यता मध्यपुरथिमि नगरपालिकाले सम्पदा संरक्षण गर्दै पर्यटकलाई सम्पदा अवलोकन र परम्परागत विभिन्न पेशाहरुको प्रवद्र्धन तथा अवलोकन गराउने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाले चाँगुनारायणबाट नगरसम्म सम्पदा एवं प्राकृतिक सौन्दर्यको अवलोकन गराउने, पदयात्रा गराउने, पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम ल्याउने गरी तयारी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । भक्तपुरमा स्थानीय तहदेखि निजी क्षेत्रसमेत सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष सफल पार्न कार्यक्रम तय गर्दै सार्वजनिक गरेका छन् । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार