भ्रमको खेती बन्द गर : विकल्प

२०७३ भाद्र ६ गते, सोमबार

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय आर्थिक विभागका सेक्रेटरी प्रेम दर्नाल (विकल्प)ले जनआस्था साप्ताहिकले आफ्नो चरित्र हत्या गर्नेगरी समाचार प्रकाशित गरेको भन्दै कडा आपत्ती जनाएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै सेक्रेटरी विकल्पले जनआस्थाले ‘अत्यन्तै कपोलकल्पित, भ्रामक, असत्य र पूर्वाग्रहपूर्ण समाचार प्रकाशित गरेको’ भन्दै त्यसको भत्र्सना गरेका हुन् । उनले विज्ञप्तीमा भनेका छन्, “नेपाली मिडियालाई अनुगमन गर्ने मुख्य जिम्मेवारी बोकेको प्रेस काउन्सीलको वोर्डमा रहेका व्यक्तिको नेतृत्वमा सञ्चालित मिडियाले नै यस किसिमका भ्रामक समाचार लेख्नु आपत्तीजनक हो । पत्रकारिताको सामान्य सिद्धान्त समेत ख्याल नगरी सुनियोजित रुपमा अरुबाट परिचालित हुनु अत्यन्तै निन्दनीय छ । यो कार्य क्रान्तिकारी आन्दोलनलाई भ्रमित तुल्याउने षड्यन्त्र र साम्राज्यवादीहरुको नुनको सोझो गर्ने हर्कत सिवाय अरु केही होइन ।” सेक्रेटरी दर्नालले नेपालमा जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यका साथ आफ्नो पार्टीले दलालहरुका विरुद्ध थालेको संघर्षले अत्तालिएर उनीहरु पार्टी र नेताको चरित्र हत्या गर्ने र जनतामा भ्रम उत्पन्न गर्न मरिमेटेर लागेको बताए । जनताको अधिकारका निम्ति जीवन समर्पित गरेर अगाडि बढेको पार्टी र नेता कार्यकर्ताहरुलाई बदनाम गराएर विभिन्न पार्टीको आवरणमा भएका अवसरवादी दलालहरुले आफ्नो स्वार्थ सिद्ध गर्न आधारहिन बनावटी समाचार प्रकाशन गर्न लगाएको बताए । उनले जनआस्था साप्ताहिक पत्रिका ती दलालहरुद्वारा परिचालित भएको पनि दावी गरे । दर्नालले आफू विगत दुई दशकदेखि निरन्तर क्रान्तिकारी पार्टी र आन्दोलनमा लागिरहेको बताउँदै ‘अवसरवादी दलालहरु’का यस्ता कार्यबाट कति पनि विचलित नहुने प्रष्ट पारे । उनले भने, “क्रान्तिकारीहरुको जीवन जनतासँग प्रत्यक्ष जोडिएको र आम जनता माझ पारदर्शी हुन्छ । मेरो राजनीतिक, पारिवारिक र आर्थिक जीवन पनि दिनको घामजतिकै छर्लङ्ग छ । मैले आफ्नो जीवन श्रमजीवी वर्ग र देशको मुक्तिका लागि समर्पित गरेर लागेको छु र त्यो प्रतिवद्धताबाट कहिल्यै पनि विचलित हुने छैन । बरु अवसरवादीहरुका षड्यन्त्रहरुलाई नेपाली क्रान्तिको प्रक्रियामा जनताले नै परास्त गर्नेछन् ।”
दर्नालले आफू इमानदारितापूर्वक आन्दोलनमा लागेको भए पनि केही अवसरवादीहरु भने आफ्नो राजनीतिबाट विक्षिप्त भएर षड्यन्त्रमा लागेको बताउँदै त्यस्ता अवसरवादी दलालहरुको स्वार्थलाई बुझ्दै नबुझेर परिचालित हुने मिडियाले समाचारमा उल्लेख भएका कुराहरु पुष्टि गर्न उनले चुनौती दिएका छन । उनले भने, “गलत अफवाह फैलाउनेहरुको हिसाबकिताब एक दिन जनताले अवश्य गर्नेछन् ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु