भ्रमको आडमा टिकेको सत्ता – विष्णु पन्त

२०७६ आश्विन १७ गते, शुक्रबार

झुट र भ्रमको खेती
हामीलाई थाहा छ, वर्तमान सत्ता झुट र भ्रमका आधारमा टिकेको छ । जनतालाई परिवर्तन, मुक्ति र समृद्धिका नारा लगाएर लोभ्याउने, भ्रममा पार्ने र लट्ठयाउने अनि यथार्थमा झन् बढी कंगाल, उत्पीडित र शोषित बनाउने रणनीति प्रयोग गरेर वर्तमान नेताहरु टिकेका छन् । क्रान्तिका सपनाहरु देखाएर जनतालाई उद्वेलित गराउने अनि त्यसैमा टेकेर सम्झौता आत्मसमर्पण र गद्दारी गरी सत्तामा पुग्ने अभ्यासहरुले नेपाली जनतालाई पटक–पटक धोका दिएका छन् । ठुला–ठुला सपनाहरु बाँड्ने तर पहलकदमी ठीक उल्टो गर्ने हाम्रा संसदीय नेताहरुको पुरानै प्रवृत्ति हो । विकास र समृद्धिका नारा धेरै पुराना भइसके । विकास र समृद्धिका नाममा देशलाई झन् पछि झन् कंगाल, गरिब र अधोगतितिर धकेल्ने तथ्यहरु सबै छर्लङ्गै छन् । हामीसँगैका अरु देशहरु उकालो चढी रहेका छन् । तर, हामी भने निरन्तर ओरालो लागी रहेका छौं । जनतालाई अति भैसक्यो, अब कहिलेसम्म यो भ्रमको सत्तालाई स्वीकार गरिरहने ? आज सामन्ती राजतन्त्र फ्याँकेकोमा जनताहरु पछुतो मान्ने अवस्थामा पुगेका छन् आखिर कसका कारण ?
कम्युनिष्ट पार्टीको भ्रम
आजको सत्तारुढ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी छ । जुन पार्टी दलाल संसदीय व्यवस्थाको मुख्य रक्षाकवच बनेको छ, दलाल पुँजीवादको आहालमा डुबेको छ र भ्रष्टाचारमा लिप्त छ, के त्यो कम्युनिष्ट पार्टी हुन सक्छ ? जुन पार्टीले उसको संसदमा दुईतिहाईको बहुमतका साथ सरकार चलाइरहेको छ तर जनमत संग्रह हुने हो भने हिजो सत्ताच्यूत राजा ज्ञानेन्द्र फर्किने भयाभह अवस्थन बनेको छ भने के त्यो कम्युनिष्ट सरकार हुनसक्छ ? जुन सरकारले अर्को राष्ट्रवादी र क्रान्तिकारी पार्टीलाई प्रतिबन्ध लगाउँदै दमन, धरपकड र फासीवाद लाद्दै छ के त्यो पार्टी कम्युनिष्ट पार्टी हुन सक्छ ? जुन सरकारले भ्रष्ट, दलाल, कालोबजारीया, तस्कर र माफियाहरुको संरक्षण गरेको छ, त्यो कम्युनिष्ट हुन सक्छ ? जुन सरकारले कमिशनका आधारमा एनसेलजस्ता बहुराष्ट्रिय कम्पनीलाई कर छुट दिन्छ तर किसान, मजदुर र आमनागरिकलाई जथाभावी कर लगाउँछ, के त्यो जनपक्षीय सरकार हुनसक्छ ?
जुन पार्टीको सदस्य बन्नका लागि कुनै रोकतोक र मापदण्ड छैन त्यो कम्युनिष्ट पार्टी हुनसक्छ ? जुन पार्टीभित्र गुट, उपगुट, भागवण्डा हाबी हुन्छ तर पार्टीको कुनै संस्थागत निर्णय हुँदैन त्यो कम्युनिष्ट पार्टी हुनसक्छ ? जुन पार्टीको कुनै कार्यक्रम छैन बल प्रयोगको तयारी छैन्, अनि प्रतिबद्ध र निष्ठावान संगठन छैन के त्यो कम्युनिष्ट पार्टी हुन सक्छ ? जुन पार्टीका नेता कार्यकर्ता, सरकारका प्रधानमन्त्री, मन्त्री र सांसद सबै कमिशनको चक्करमा डुबेका छन् के त्यो कम्युनिष्ट पार्टी हुन सक्छ ? अतः कम्युनिष्ट पार्टीलाई जनता झुक्याउने ट्रेडमार्क बनाईएको छ ।
समाजवादको भ्रम
संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने भन्ने वाक्यांश राखिएको छ तर यथार्थमा समाजवादलाई निल्ने अर्थप्रणालीको अभ्यास गरिएको छ । निजीकरण र उदारीकरणलाई नै अर्थतन्त्रको मुल आधार बनाइएको छ । अर्थप्रणालीका हिसाबले दलाल पुँजीवादलाई अनुशरण गरिएको छ । दलाल पुँजीवादलाई निषेध गर्ने र आक्रमण गर्ने रणनीतिको विरुद्ध त्यसलाई बढावा दिने, संस्थागत गर्ने र प्रोत्साहित गर्ने काम राज्य र सरकारले गरेको छ । राष्ट्रिय पुँजीपति वर्गलाई ध्वस्त बनाउने उद्योग कलकारखानालाई विघटन गराउने अनि राष्ट्रिय उत्पादनलाई निरुत्साहित गर्ने रणनीति भएको व्यवस्थालाई के समाजवाद उन्मुख अर्थतन्त्र भन्न मिल्छ ?
शिक्षा, स्वास्थ्यमा राजनीतिकरण र माफियाकरण गर्ने, सरकारी संस्थाहरु पूरै ध्वस्त गरिदिने, भूमिमाथिको स्वामित्वलाई पूरै दलाल र माफियाहरुमा केन्द्रीकरण गर्ने वर्तमान सरकारले के समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न सक्छ ? समाजमा गरी खाने वर्ग बाँच्नै नसक्ने अवस्थामा पु¥याइँदै छ । कृषिप्रधान देशमा भूमि बाँझै छन् र प्लटिङ्ग गरिएका छन् । काम गर्ने वा श्रमजीवि वर्ग समाजका लोपोन्मुख वर्गमा परिणत भएका छन् । इमानदार मान्छेहरु आज उत्पीडित, उपेक्षित र अपहेलित वर्गमा परिणत हुँदैछन् । जताततै भ्रष्ट, दलाल, तस्कर, कालोबजारीया र माफियाहरुको सत्ता छ । समाजमा सेतो धनको होइन कालो धनको सत्ता छ । जसले पैसा कमाउँछ पुजनीय र सफल गनिन्छ । जुनसुकै तरिकाले किन नहोस् पैसा कमाउनु पर्छ भन्ने आमसिद्धान्त हाबी भएको छ । आज कालो धन थुपार्नेहरु रातारात करोडपति, अरबपति र खरबपतिमा परिणत भएका छन् । समाजमा काला नवधनाड्य वर्ग नै सर्वत्र हाबी भएका छन् । प्रभाव जमाएका छन् र महासामन्त वा महाराजाको स्थान ग्रहण गरेका छन् । के यसरी समाजवाद आउँछ ? यथार्थमा समाजवादलाई निल्ने वा खाइदिने अर्थतन्त्रको विकास गरेर समाजवादको नारा दिनु राजनीतिक अपराध होइन् र ? समाजवादलाई पनि लुटी खाने टे«डमार्क बनाउन मिल्छ ?
विकास र समृद्धिको भ्रम
आज सरकारले विकास र समृद्धिका नारा लगाएर जनतालाई झुक्याउने र लठ्याउने षडयन्त्र गरिरहेको छ । विकासका खोक्रा सपनाहरु बाँड्ने जस्तै रेल, मोनोरेल, मेट्रोरेल, पानीजहाज, केवुलकारको नारा लगाइएका छन् । यथार्थमा सर्वत्र खाल्डाखुल्डी, डुबान, अस्तव्यस्त, धुलो, धुवाँले हामीलाई निलिरहेका छन् । गरीब र धनीबीचको खाडल असन्तुलित र भयावह बनेको छ । देशमा काम गर्ने, श्रम गर्ने वातावरण नै छैन ।
युवाहरुलाई विदेश पठाउने र रेमिट्यान्समाथि मोज गर्ने रणनीतिमा सरकार लागिपरेको छ । के युवाहरुलाई विदेश पठाएर समृद्धि सम्भव हुन्छ ? के प्रधानमन्त्री, मन्त्री, पार्टी अध्यक्ष र नेताहरुले जम्मा गरेका अरबौंका कमिशनबाट समृद्धि आउँछ ? ओली, दाहाल र देउवाले विदेशी बैंकमा जम्मा गरेको खरबौं रकमबाट देशमा समृद्धि हुन्छ ? बालुवाटारको जग्गासमेत आफ्नो नाममा बनाउने नेताहरुबाट समृद्धिको अपेक्षा गर्न मिल्छ ? गरीब, किसान र मजदुरलाई जथाभावी कर लगाएर धनी, बहुराष्ट्रिय कम्पनी र दलालहरुलाई कर छुट गर्ने यो सत्ताबाट समृद्धि सम्भव छ ? कर लगाउने तर सुविधा केही नदिने दलाल सत्ताबाट विकास सम्भव हुन सक्ला ? महाकाली सन्धि गर्दा वार्षिक करोडौं आम्दानी हुने झुटो तथ्यांक पेश गर्ने ओलीले अहिले के सोच्दा हुन् ? मेलम्चीको सपना देखाउन थालेको आज कति वर्ष भए होला ? प्रत्येक वर्ष नेपालीहरुको टाउकोमा ऋणको मात्रा बढाएर समृद्धि हुन्छ ? प्रतिव्यक्तिको आयको तथ्यांकमा झन् पछि झन् तल खस्किँदै जाने दुरावस्थाबाट समृद्धि सम्भव छ ?
राष्ट्रियताको भ्रम
धेरै पटक जनताको मन जीत्नका लागी र सत्तामा पुग्ने भ¥याङ बनाउनका लागि राष्ट्रियताको नारा दिइयो । तर, सत्तामा पुगेपछि वा पुग्नका लागि विदेशीहरुसँगै आत्मसमर्पण गर्ने काम भयो । हिजो सुरुङ्ग युद्धको घोषणा गर्ने नेताहरु कुन दुलोमा छन् ? आज के गरिरहेका छन् ? हिजो हिन्दी सिनेमा चलाउन नदिने आन्दोलनको घोषणा गर्नेहरु सत्तामा छन् र उनीहरु आज के गर्दैछन् ? हिजो चुनाव अघि भारतीय नाकाबन्दीसँग डटेर सामना गर्ने भन्नेहरु चुनावपछि पनि दुईतिहाई बहुमत प्राप्त प्रधानमन्त्री छन् तर आज के गर्दै छन् ?
आज हजारौं भारतीयहरुलाई नागरिकता बाँड्ने अपराधीहरु सत्तामा छन् । सिमा मिचिदा चुँ बोल्दैनन्, विदेशी अतिक्रमण हुँदा त्वं शरणं गर्छन् । जनतालाई भने राष्ट्रियताका लामा भाषण दिन्छन् । असमान सन्धि सम्झौताहरुको विषयमा ठूला–ठूला संघर्ष गर्नेहरु सत्तामा पुगेपछि आत्मसमर्पण मात्र गरेका छन् । आज थुप्रै राष्ट्रघाती सन्धि सम्झौता गर्नेहरुलाई के भन्ने ? आपूm सत्तामा पुग्नका लागि वा सत्तामा टिकिरहनका लागि विदेशीहरुसँग आत्मसमर्पण गर्ने, सम्झौता गर्ने र राष्ट्रियता माथि नै सौदावाजी वा व्यापार गर्ने प्रवृत्तिबाट राष्ट्रियताको संरक्षण हुन सक्दैन ।
क्रान्तिकारी नेता, कार्यकर्ता, उत्पादनको भ्रम
आज संसदीय कम्युनिष्ट नेता कार्यकर्ताहरुको पतनले सबैलाई लज्जित बनाइदिएको छ । प्रचण्ड र ओलीको खरब सम्पत्तिका कुरा उठिरहेका छन् । दक्षिण एशियाकै धनी नेताहरुको सूचीमा उनीहरुको नाम आएको छ । क्रान्तिको नाममा धेरै नेताहरुको वर्गउत्थान भएको छ । आज नवधनाड्य वर्गको विकास भएको छ । पूर्वराजाहरुको भन्दा धेरै सम्पत्ति नेताहरुको छ । नेताहरु नवसामन्त र महासामन्तमा परिणत भएका छन् । नेताहरुको यो चरीत्रले उनीहरुको पलायन, पतन र गद्दारीलाई पुष्टि गर्दछ ।
सबै कार्यकर्तालाई इमानदार होइन दलाल, भ्रष्ट र सामन्त बनाएर के क्रान्ति हुन्छ ? नेताहरु आफैँ नाङ्गो ढंगले कमिशनखोर बनेर देशमा विकास हुन्छ ? आजको सत्तारुढ नेकपामा के कुनै कम्युनिष्ट विशेषता बाँकी छ र ? आज सत्तारुढ कम्युनिष्ट पार्टी बुर्जुवा पार्टीहरु जति पनि लोकतान्त्रिक छैन । ओली र दाहालको सहमती भए अरुका विचार सुन्ने अवस्था नै छैन । उनीहरुको भागवण्डा नमिलेमा वा स्वार्थ बाझिएमा पूरै पार्टी विभाजित हुन्छ तर उनीहरुको स्वार्थ मिलेमा विचार, पद्धतिको बहस नै हुँदैन । आज उनीहरुको पार्टी कस्तो बनाउने भन्नेमा बहस नै छैन, विचारको बहस नै छैन र समाज कस्तो बनाउने परिकल्पना नै छैन । सबै यथास्थितिमा रमाउने, मात्तिने र उपद्र मच्चाउनेमा नै व्यस्त छन् ।
नेतादेखि कार्यकर्ता कमिशनको चक्करमा डुबेका छन् । जुन नेता कालोसूचीमा परेका बदनामित ठेकेदारको घरमा बस्छन्, ठेकेदारहरुसँग मिलेमतो र आलिङ्गन गर्छन् । तिनीहरुले फेरि जनतालाई झुक्याउनका लागि क्रान्तिको कुरा गरिरहन्छन् । जनताले जीवन व्यवहार हेर्ने कि फोस्रा बनावटी भाषण हेर्ने ? त्यसकारण पार्टी कस्तो बनाउने भन्ने कुराको निर्धारण नेता र कार्यकर्ताको चरित्रले गर्दछ । आफैं कमिशनमा डुबने अनि समाजवादको कुरा गर्ने ? आफैं अरबौं सम्पत्ति थुपार्ने अनि क्रान्तिको कुरा गर्ने, आफैं भूमाफिया बन्ने अनि भूमिसुधारको कुरा गर्ने, आफैं निजी कलेज र अस्पताल खोल्ने अनि शिक्षा र स्वास्थ्यमा निजीकरणको अन्त्यको कुरा गर्ने ! यस्ता भ्रमात्मक प्रवृत्तिका नेताहरुबाट देश र जनताको हित हुन सक्छ ?
भ्रमको सत्ताको अन्त्य गर्नुपर्छ
हामीले निष्कर्ष निकाल्नुपर्ने विषय स्पष्ट छ कि भ्रमबाट प्रभावित हुने हाम्रो पद्धतिलाई बदल्नुपर्छ । नेपाली जनताले धोका खाईरहने पद्धतिबाट मुक्त हुन सक्नुपर्छ । नेताहरुका जीवन पद्धति र व्यवहारलाई हेरेर मात्र विश्वास गर्नुपर्छ । नेपालमा क्रान्तिको आवश्यकता छ तर भ्रान्तिको होइन् नेता कार्यकर्ता र आमजनताको बलिदान र संघर्षमा टेकेर सत्तामा पुग्ने अनि जनता र राष्ट्रलाई धोका दिनेहरुका विरुद्ध सम्झौताहीन संघर्ष गर्नुपर्छ । संसदीय गोलचक्करबाट समाजवादको सपना देखाउनेहरुलाई अब लखेटनुपर्छ । आपूm दलाल पुँजीवादमा फस्ने, पुरानै संसदीय व्यवस्थाको ठेकेदार बन्ने अनि क्रान्तिका भाषण गरिरहनेहरुलाई जनताले बहिस्कृत गर्नुपर्दछ । अब दलाल संसदीय व्यवस्थाको अन्त्य एक मात्र विकल्प हो, त्यसका लागि यो व्यवस्थाका रक्षकहरुमाथि हमला गर्नै पर्छ । एउटा क्रान्तिकारी नेतृत्व र पार्टीले मात्र त्यो अभिभार पुरा गर्नसक्छ । विप्लवको नेतृत्व, नेपाल कम्युनिष्ट पार्टीको सशक्तिकरण, एकीकृत जनक्रान्तिको कार्यदिशाको सही संयोजनबाट मात्र वैज्ञानिक समाजवादको स्थापना हुनसक्छ । वर्गदुश्मनसँग घाँटी जोडेर क्रान्ति हुँदैन, बल प्रयोग र संघर्षबाट मात्र देशले मुक्ति पाउँछ ।

प्रतिक्रियाहरु