भोलिदेखि सडक आन्दोलन : विपक्षी मोर्चा

२०७१ माघ १२ गते, सोमबार

काठमाडौं, १२ माघ । एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले सत्तारुढ दल र संविधानसभाका अध्यक्षले संविधान निर्माणमा सहमतिको साटो प्रक्रिया सुरु गरेको विरोधमा सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।संविधानसभामा सभाध्यक्ष सुवास नेम्वाङले आइतबार बहुमतीय प्रणालीमा गएर प्रश्नावली निर्माण समिति गठन गरेको विरोधमा एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले मंगलबार (भोलि)देखि नै आन्दोलन गर्ने निर्णय गरेको हो ।मोर्चामा आबद्ध मधेसवादी दल, एकीकृत माओवादी र संघीय समाजवादी पार्टीसहित सोमबार सिंहदबारमा बसेको बैठकले विगतका उपलब्धिको रक्षा र जनपक्षीय संविधानका लागि भन्दै सडक आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै मोर्चाघटक मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र सत्तारुढ दलले विपक्षीलाई पेलेरै अघि बढ्ने नीति लिएको आरोप लगाउँदै त्यसको सशक्त प्रतिकार गर्ने बताए ।सडक आन्दोलनको स्वरुप र आन्दोलनलगायतका विषयमा मोर्चाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र संविधानसभाबाहिर रहेका अरु दलसहितको ३० दलसँग छलफल गरेर सोमबारै साँझसम्म निर्णय लिने बताएको छ ।

प्रतिक्रियाहरु