भैरवको रथ तान्दा ढुंगा हानाहान, ९ जना घाइते

२०७६ बैशाख ६ गते, शुक्रबार

काठमाडौं , ६ वैशाख । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही छन् । त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पुर्‍याएपछि सामान्य ढुंगा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनले केही ढुंगा हानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको जानकारी दिए ।
हिजो साँझ ५ बजेबाट गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले रथ तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्‍याएर एउटा घरमा रथ ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो ।
स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तान्न शुरु भएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पु¥याइएको थियो । बिहान ४ बजे वंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो ।
रथ तान्ने क्रममा घाइते भएकाको भक्तपुर अस्पतालमा उपचार भएको प्रनाउ पोखरेलले जानकारी दिए ।-रासस

प्रतिक्रियाहरु