भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका सुचारु

२०७६ जेष्ठ २६ गते, आईतवार

काठमाडौं, २६ जेठ । चार महिनादेखि बन्द भएको भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका खुला भएको छ । सीमा खुला गरिएसँगै भेनेजुएलाका लाखौं नागरिक अत्यावश्यकीय सामान खरिदका लागि कोलम्बियाको सीमापारी पुगेका छन् । गत फेब्रुअरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सीमा नाका बन्द गरेका थिए । आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गोइदोले अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामान भित्र्याउन आह्वान गरेपछि राष्ट्रपति मदुरोले सीमा नाका बन्द गरेका थिए ।
लामो समयदेखि आर्थिक संकटमा गुज्रिरहेको भेनेजुएलामा मानवीय सहायतासमेत उपलब्ध हुन नसकेपछि विपक्षी नेता हुँवा गोइदोले सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । तर, राष्ट्रपति मदुरोले भने अमेरिकालगायतका युरोपेली मुलुकबाट कुनै पनि हालतमा सामानहरु भित्रिन नदिने अडान राख्दै सीमा नाका बन्द गराएका थिए ।
विपक्षी नेताको आह्वानअनुसार अमेरिकालगायत युरोपेली मुलुकहरुले भेनेजुएलाका लागि मानवीय सहायता बोकेका गाडि कोलम्बियाको कुकुतासम्म पु¥याएका थिए । तर, नाका बन्द भएपछि ती सामान भेनेजुएला भित्रन पाएका थिएनन् । सीमा बन्द भएपछि लाखौं भेनेजुयाली नागरिक उपभोग्य सामान खरिद गर्नबाटसमेत बञ्चित हुँदै आएका थिए । संयुक्त राष्ट्र संघीय एजेन्सीले सन् २०१५ यता ४० लाख भेनेजुयाली नागरिक विस्थापित भएको जनाएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु