भूकम्प मापन केन्द्र डिजिटल प्रविधिमा

२०७२ बैशाख ३ गते, बिहीबार

काठमाडौं, ३ वैशाख । खानी तथा भू–गर्भ विभागअन्तर्गतका २१ वटै भूकम्प मापन केन्द्र डिजिटल प्रविधिमा जाने भएको छ । फ्रान्सको भूकम्पसम्बन्धी अध्ययन गर्ने संस्था डिपार्टमेन्ट एनालाइज, सर्भिल्यान्स, इन्भारोमेन्टका अध्यक्ष वेनेडीक गीलपाथको नेतृत्वमा आएको चार सदस्यीय टोलीले उद्योगमन्त्री महेश बस्नेतलाई भेटी मापन केन्द्रको आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
खानी तथा भू–गर्भ विभागका उपमहानिर्देशक डा सोम सापकोटाका अनुसार उद्योगमन्त्री बस्नेत र फ्रान्सको उक्त टोलीबीच खानी तथा भू–गर्भ विभागअन्तर्गत रहेका सबै राष्ट्रिय भूकम्प मापन केन्द्रलाई आधुनिकीकरण गर्ने विषयमा छलफल भएको थियो ।छलफलमा भूकम्पका तथ्याङ्क प्रशोधन तथा मापनका लागि डिजिटल प्रविधि जडान गर्न फ्रान्स सरकारले प्राविधिक सहयोग गर्ने भएको उद्योग मन्त्रीका प्रेस संयोजक अजय शर्माले जानकारी दिए ।फ्रान्सले सन् १९७८ देखि नै खानी तथा भू–गर्भ विभागको आधुनिकीकरणका लागि नेपाललाई प्रत्यक्ष प्राविधिक सहयोग गर्दै आएको छ । नेपालभित्र दुई रेक्टर स्केलभन्दा ठूला र विश्वको जुनसुकै स्थानको पाँच रेक्टरभन्दा ठूला भूकम्प स्वदेशबाटै मापन गर्ने प्रविधि रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु