भूकम्पमा क्षतिग्रस्त विद्यालयलाई सहयोग

२०७३ भाद्र १० गते, शुक्रबार

काठमाडौं, १० भदौ । बागलुङमा भूकम्पबाट क्षतिग्रस्त बनेको जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर उच्च माविको भवन निर्माणका लागि पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका पूर्वविद्यार्थीले १२ लाख ५७ हजार २९८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
उक्त रकम हाल रोजगारीका लागि अमेरिकामा रहेका पूर्वविद्यार्थी जयप्रकाश श्रेष्ठको नेतृत्वमा सङ्कलन भएको विद्यालयले जनाएको छ । श्रेष्ठको नेतृत्वमा सङ्कलित उक्त रकम एक कार्यक्रमको आयोजना गरी हालै विद्यालयलाई हस्तान्तरण गरिएको छ । श्रेष्ठले आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सक्दो सहयोग गरेको बताए । उनले अमेरिका पुगेर अर्को चरणमा आर्थिक अभियानलाई अझै सशक्त बनाई दोस्रो चरणको आर्थिक अभियानसमेत सञ्चालन गर्ने जानकारी दिए । गतबर्ष वैशाखको भूकम्पबाट क्षतिग्रस्त बनेको विद्यालय अहिले पुनःनिर्माणको चरणमा छ । क्षतिग्रस्त भवन विभिन्न क्षेत्रबाट सहयोग जुटाएर पुनःनिर्माण भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर जिसीले बताए ।
जिसीका अनुसार विद्यालय रु पाँच करोड ५० लाखको अनुमानित लागतमा भूकम्पप्रतिरोधी भवन निर्माणका लागि सहयोग जुटाउने अभियानमा छ । सहयोग जुटाउन विद्यालयमा आगामी कात्तिक पहिलो सातादेखि धार्मिक तथा शैक्षिक महोत्सवको आयोजना गरिनेछ ।
‘कालिगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्वस’का लागि विभिन्न उपसमितिसमेत निर्माण गरिसकेको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु